विश्वव्यापी सार्वजनिक ऋण पहिलाे पटक एक सय ट्रिलियन डलर पुग्ने आईएमएफकाे अनुमान

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्वव्यापी सार्वजनिक ऋण पहिलो पटक एक सय ट्रिलियन अमेरिकी डलर पुग्ने बताएको छ । आईएमएफले धेरै देशका लागि वित्तीय अवस्था ‘अपेक्षाभन्दा खराब’ हुनसक्ने चेतावनी दिँदै विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष एक सय ट्रिलियन डलर पुग्ने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

वित्तीय नीतिसम्बन्धी  पछिल्लो प्रतिवेदनमा आईएमएफले यस वर्ष विश्वव्यापी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ९३ प्रतिशत र सन् २०३०  सम्ममा जीडीपीको १०० प्रतिशतमा पुग्ने अपेक्षा गरेको छ । यो तथ्याङ्क कोभिड–१९ महामारी शुरू हुनुभन्दा पहिलेको तुलनामा १० प्रतिशतले बढी हो ।

आईएमएफको 'फिस्कल अफेयर्स डिपार्टमेन्ट' का उपनिर्देशक एरा डाब्ला–नोरिसले ऋणको बोझ अपेक्षाभन्दा बढी हुने धेरै कारण भएको बताउँदै जलवायु परिवर्तन, अत्यधिक आशावादी ऋण अनुमान तथा ठूलो मात्रामा अज्ञात ऋणको सम्भावना जस्ता सवाललाई सम्बोधन गर्न अहिलेको खर्च सन्तुलित नरहेको उल्लेख गरेका छन् । त्यसैले उनले सन्तुलन कायम गरी ऋणको बोझ घटाउन देशहरूले आफ्नो वित्तीय व्यवस्थापनलाई बलियो गराउनुपर्ने समय आएको बताएको खबरमा उल्लेख छ ।

प्रतिवेदनमा खराब अवस्थामा विश्वव्यापी सार्वजनिक ऋण सन् २०२६ सम्ममा जीडीपीको एक सय १५ प्रतिशत पुग्नसक्ने अनुमान गरिएको छ । यो तथ्याङ्क कोषको आधारभूत अनुमानभन्दा झन्डै २० प्रतिशत बढी हो ।

विश्वव्यापी सार्वजनिक ऋण नियन्त्रणमा ल्याउन वित्तीय समायोजनको आकार जीडीपीको औसतमा ३ देखि ४ दशमलव ५ प्रतिशतको बीचमा रहन आवश्यक रहेको आईएमएफले जनाएको छ जुन विगतका समायोजनहरूको आकारभन्दा लगभग दोब्बर हो ।

एजेन्सी

Comments

Back to top