हान कङ: साहित्यमा नोबेल पुरस्कार पाउने प्रथम एसियाली महिला

५३ वर्षीया हान कङ नोबेल साहित्य पुरस्कार प्राप्त गर्ने पहिलो दक्षिण कोरियाली महिला लेखक बन्न पुगेकी छन् ।

नोबेल पुरस्कार प्राप्त गर्ने उनी दोस्रो दक्षिण कोरियाली हुन् । यसअघि सन् २००० मा राष्ट्रपति किम दाय जुङलाई दुई कोरियाबीचको सम्बन्ध सामान्यीकरण गर्न प्रयास गरेबापत् नोबेल शान्ति पुरस्कार दिइएको थियो । उनी सन् १९९८ देखि सन् २००३ सम्म दक्षिण कोरियाको राष्ट्रपति थिए ।

त्यसो त सन् १९८७ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार पाउने चार्ल्स जे पिटर्सन दक्षिण कोरियामै जन्मिएका थिए । तर, उनी अमेरिकी पिता-माताका सन्तान थिए, उनले अमेरिकी राष्ट्रियता नै ग्रहण गरे ।

हान कङ साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो एसियाली महिला पनि बनेकी छन् । सन् १९१३ मा भारतका रवीन्द्रनाथ टैगोर साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो एसियाली थिए । त्यसको १११ वर्षपछि कङले यस्तो अभिलेख बनाएकी हुन् ।

कङअघि ८ एसियाली साहित्यकारले यो पुरस्कार जितेका थिए । ती हुन् भारतका टैगोर (१९१३), जापानका यासुनारी कावावाता (१९६८), केन्वाबुरा ओई (१९९४) र कागुओ इसिगुरो (२०१७), चीनका गाओ छिन्जियान (सन २०००) र माओ यान (२०१२), भीएस नयपाल ( २००१) र टर्कीका ओर्हान पामुक (२००६) ।

अन्य विधामा भने ९ एसियाली महिलाले नोबेल पुरस्कार प्राप्त गरिसकेका छन् । सन् १९७९ मा भारतकी मदर टेरेसाले नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी थिइन् ।

इजरायलकी अदा इ. योनोथ, म्यानमारकी आङसान सूची, इरानका सिरिन इवादी र नार्गिस मोहम्मदी, यमनकी तावाकुल करमान, इराककी नादिया मुराद, पाकिस्तानकी मलाला यसुफजाई र फिलिपिन्सकी मारिया रेशाले यो पुरस्कार पाइसकेका छन् ।

एजेन्सी

Comments

Back to top