नागढुङ्गा–मुग्लिन सडक : १७ गतेभित्र मर्मत सक्ने सहमति

नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडक निर्माणलाई गति दिने विषयमा सहमति भएको छ । हिजो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा विभिन्न समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्वद्ध पक्ष सहमत भएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मन्त्री देवेन्द्र दाहालको अगुवाइमा भएको छलफलमा धादिङका संघ, प्रदेश र पालिकाका जनप्रतिनिधिसँगै निर्माण कम्पनीका प्रतिनिधि, कन्सल्ट्यान्टलगायतको सहभागिता थियो । सहमतिअनुसार निर्माण व्यवसायीले चाडपर्वलाई लक्षित गरी यही असोज १७ गतेभित्र सडकको सबै मर्मतको काम सक्नुपर्ने भएको छ ।

सडक विभागले तत्कालै सीतापाइला, धार्के, भिमढुङ्गा, लामीडाँडा, गल्छी तथा गल्छी परेवाटार (त्रिशूली पारी पट्टि) भइ रहेका सडकको अवस्थाअनुसार डाइभर्सन सडकका रुपमा प्रयोग गर्ने सहमति पत्रमा उल्लेख छ । आयोजनाको टिम, योजना कार्यालय, परामर्शदाता, निर्माण व्यवसायीले सबै पक्षले डिजाइन कार्यान्वयन र गर्नुपर्ने सुधारका सम्बन्धमा पालिकासँग नियमित सम्पर्क र समन्वय पनि गर्नुपर्ने भएको छ ।

सडक निर्माण गर्दा प्रचलनमा रहेका सिँचाइ र शाखा सडकमा अवरोध नहुने गरी निर्माण गर्ने सहमति भएको छ । आयोजना कार्यान्वयन गर्दा गल्छी, महादेववेशीलगायत ठाउँमा छुट भएका थप घरटहरा र संरचनाको नियमानुसार क्षतिपूर्तिका लागि तत्काल प्रक्रिया अघि बढाउने सहमति पत्रमा उल्लेख गरिएको छ । सहमति पत्रमा निर्माण व्यवसायीले स्रोत उपयोग गरेको पालिकालाई नियमानुसार राजस्व तिर्नुपर्ने तर ओसारपसारमा थप वा दोहोरो कर नलिने सहमति भएको छ । 

एजेन्सी

Comments

Back to top