क्यानडाले चिनियाँ विद्युतीय गाडीमा कर बढाएपछि दुई देशबीच व्यापार तनाव बढ्ने सङ्केत

क्यानडा र र चीनबीच व्यापारको तनाव बढ्ने देखिएको छ । अघिल्लो हप्ता क्यानडाले चीनबाट आयात हुने विद्युतीय गाडी, फलाम र आल्मुनियममा शतप्रतिशत कर लगाएपछि चीनले पनि त्यसको जवाफ दिने तयारी गरेको छ ।

चीनले पहिलो चरणमा क्यानडाबाट आयात हुने तोरीमा अनुसन्धान गरेर कर बढाउने र परिमाण कटौती गर्ने तयारी गरेको बीबीसीले जनाएको छ । चीनले आफ्ना सामानमा क्यानडाले गैरकानूनी ढङ्गले कर बढाएको भन्दै विश्व व्यापार सङ्गठनमा उजुरी गर्ने पनि बताएको छ ।

क्यानडाको निर्णयलाई चीनले भेदभावपूर्ण र एकपक्षीय भनेर आलोचना गरेको छ । चीनले तोरीमा कर बढाउने र परिमाण घटाउने घोषणा गरेपछि क्यानडाका कृषिमन्त्रीले यसलाई गहिरो चिन्ताको विषय भएको बताउनुभएको छ ।

अमेरिका र युरोपेली देशले पनि चिनियाँ गाडीसहितका सामानमा कर बढाएका छन् । चिनियाँ सरकारको अनुदानका कारण चीनका कम्पनीले आकर्षक, भरपर्दा र सस्ता गाडीको उत्पादन बढाएका छन् । चिनियाँ गाडीसँग पश्चिमा देशका कम्पनीहरूलाई प्रतिस्पर्धा गर्न हम्मे हम्मे परिरहेको छ ।

क्यानडामा सबैभन्दा धेरै निर्यात हुने वस्तुमा तोरी पर्छ । गएको वर्ष क्यानडाबाट चीनमा आयात हुने तोरीको परिमाण १ सय ७० प्रतिशतले बढेर ५ अर्ब डलर पुगेको थियो ।

एजेन्सी

Comments

Back to top