अस्ट्रेलियाको जीडीपीमा गिरावट

अस्ट्रेलियाले कोभिड–१९ महामारीको अवधिलाई छोडेर ३० वर्षभन्दा बढीको अवधिमा सबैभन्दा कम वार्षिक आर्थिक वृद्धि (एक दशमलव पाँच प्रतिशत)को रिपोर्ट गरेको छ ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)ले बुधबार जारी गरेको आधिकारिक तथ्याङ्कले २०२३ जुलाई १ देखि सन् २०२४ जुन ३० सम्मको आर्थिक वर्षमा अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) एक दशमलव पाँच प्रतिशतले बढेको देखाएको छ । यो जुन आव २०२२/२३ मा तीन दशमलव एक प्रतिशत थियो ।

एबीएसका अनुसार सन् १९९१/९२ को आर्थिक मन्दीपछि शून्य दशमलव चार प्रतिशतको आर्थिक वृद्धिदर रहेकामा कोभिड महामारीलाई छोडेर यो अस्ट्रेलियाको सबैभन्दा कम आर्थिक वृद्धिदर हो ।

त्रैमासिक आधारमा अप्रिलको सुरुदेखि जुनको अन्त्य तीन महिनामा अर्थतन्त्र शून्य दशमलव दुई प्रतिशतले वृद्धि भएकामा सन् २०२३ को अन्तिम तीन महिना र सन् २०२४ को पहिलो तीन महिनामा भएको वृद्धिसँग मिल्दोजुल्दो देखिन्छ ।

विश्वव्यापी अनिश्चितता, उच्च मूल्य दर र निरन्तर मुद्रास्फीतिलाई प्रतिविम्बित गर्दै गत त्रैमासिकमा अर्थतन्त्रमा सीमित वृद्धि भएको पुष्टि गरेको अर्थमन्त्री जिम चाल्मजले तथ्याङ्कको प्रतिक्रियामा जनाए । उनले यसले मानिसहरूको दबाबलाई देखाउने बताए ।

एजेन्सी

Comments

Back to top