आउँदो अक्टोबरदेखि न्युजिल्यान्ड घुम्न जाने पर्यटकले एक सय डलर तिर्नुपर्ने

न्युजिल्यान्डले पर्यटक शुल्क झन्डै तीन गुणाले बढाएको छ । अहिले ३५ न्युजिल्यान्ड डलर तिर्नुपर्नेमा आउँदो अक्टोबरदेखि न्युजिल्यान्ड घुम्न जाने पर्यटकले एक सय डलर तिर्नुपर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आगन्तुकहरूले न्युजिल्यान्ड भ्रमण गर्दा सार्वजनिक सेवाहरू र उच्च गुणस्तरको आतिथ्यता प्राप्त गर्न सकून् भनेर अन्तर्राष्ट्रिय आगन्तुक संरक्षण र पर्यटन लेवी (आईभीए) को शुल्क बढाइएको सरकारको दाबी छ । यस्तै अन्तर्राष्ट्रिय पर्यटनले स्थानीय समुदायलाई लाभ दिने, पूर्वाधारको विस्तार हुने र सम्पदाको मर्मत र हेरचाहमा पनि वृद्धि गर्नका लागि शुल्क बढाइएको पर्यटन मन्त्री म्याट डुसीले बताएका छन् ।

न्युजिल्यान्डले सन् २०१९ देखि आईभीएल लागू गरेको थियो । तर पर्यटकलाई भार नपरोस् भनेर यो शुल्कको धेरैजसो हिस्सा न्युजिल्यान्डका व्यवसायी र करदाताहरूले तिर्ने गरेका थिए । अब न्युजिल्यान्ड भ्रमणको लागत प्रतिव्यक्ति पाँच सय न्युजिल्यान्ड डलरसम्म पुग्नेछ जुन क्यानाडा भ्रमण गर्ने लागतको दोब्बरभन्दा धेरै र अस्ट्रेलिया भ्रमण गर्नेभन्दा दुई तिहाइले धेरै हो ।

अन्तर्राष्ट्रिय पर्यटनले न्युजिल्यान्डको अर्थतन्त्रमा अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्छ । अन्तर्राष्ट्रिय पर्यटकले गएको वर्ष न्युजिल्यान्डमा ११ अर्ब न्युजिल्यान्ड डलरभन्दा धेरै खर्च गरेका छन् । न्युजिल्यान्डले एक दशकमा पर्यटकको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएको छ ।

एजेन्सी

Comments

Back to top