ब्याजदर परिवर्तन गर्दा सावधानी अपनाउन ईसीबीको आग्रह

युरो क्षेत्रको ब्याजदर निर्धारणकर्ताहरूले ‘बिस्तारै र सावधानीपूर्वक’ मौद्रिक नीतिलाई खुकुलो बनाउनुपर्ने युरोपेली केन्द्रीय बैंक (ईसीबी)का बोर्डका अधिकारीले बताएका छन् ।

युरोपेली केन्द्रीय बैंकको ब्याजदर वृद्धिको ऐतिहासिक उचाइपछि युरोको प्रयोग गर्ने २० राष्ट्रहरूको समूह (यूरोजोन)को मुद्रास्फीति बिस्तारै केन्द्रीय बैंकको दुई प्रतिशतको लक्ष्यमा झरिरहेको छ ।

यस हप्ताको तथ्याङ्कले अगस्टमा जर्मनी र फ्रान्स दुवैमा मुद्रास्फीति एक दशमलव नौ प्रतिशतमा झरेको देखाएको छ । सन् २०२१ पछि दुवै देशमा पहिलो पटक मुद्रास्फीति दुई प्रतिशतभन्दा तल झरेको हो । ईसीबीले सेप्टेम्बरमा फेरि दर कटौती गर्नसक्ने सम्भावनाको सङ्केत गरेको छ ।

ईसीबीका बोर्ड सदस्य इसाबेल श्नाबेलले मुद्रास्फीतिको स्वाभाविक चालले उपभोक्ता मूल्यहरू शान्त भइरहेको सङ्केतहरू दिएको र ‘सावधानीपूर्वक आउने मौद्रिक नीतिले अझै पनि सामना गरिरहेको चुनौतीलाई कम गर्ने’ बताएका छन् ।

इस्टोनियाको राजधानी तेलिनमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विशेष गरी ‘सेवा क्षेत्रमा निरन्तर मूल्यको दबाब’लाई औँल्याएका थिए । उनले भने, ‘मौद्रिक नीति होसियारीका साथ ल्याइनुपर्छ र क्रमशः मुद्रास्फीति नियन्त्रण गर्दै अघि बढ्नुपर्छ ।’

उनले अगाडि भने, ‘नीतिगत सहजताको गति यान्त्रिक हुन सक्दैन । यसलाई तथ्याङ्क र विश्लेषणमा निर्भर गर्न आवश्यक छ ।’ ईसीबीले मुद्रास्फीति सन् २०२५ को अन्त्यसम्ममा दुई प्रतिशतको लक्ष्यमा फर्कने प्रक्षेपण गरेको छ ।

रूसले युक्रेनमाथि आक्रमण गरेपछि ऊर्जाको मूल्यमा आएको वृद्धिले सन् २०२२ को अन्त्यमा युरोजोनको मुद्रास्फीति १० प्रतिशत नाघेपछि ईसीबीले आफ्नो कडा चक्र सुरु गरेको थियो ।

ब्याजदर वृद्धिको चक्रपछि पहिलो कटौती जुनमा भएको थियो । बैंकले जुलाईमा दोस्रो कटौती गर्ने अपेक्षा गरिएको भए पनि ब्याजदर परिवर्तन भएको थिएन तर अर्को महिना कटौतीको सम्भावनाहरू बढ्दैछन् ।

एजेन्सी

Comments

Back to top