श्रीलङ्कामा ऋणको पुनर्संरचनापछि ब्याजदर घट्यो, अर्थतन्त्र लयमा फर्कँदै

श्रीलङ्काको केन्द्रीय बैंकले ब्याजदरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनर्संरचनापछि बैंकले पहिलो पटक ब्याजदर कटौती गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

श्रीलङ्काको केन्द्रीय बैंकले मौद्रिक नीति सहज बनाउनका लागि ऋण तथा निक्षेप दुवै दर २५ आधार अङ्कले घटाएको जनाएको छ । श्रीलङ्काले सामना गरिरहेको विदेशी मुद्रा सङ्कटको चरम अवस्थामा सन् २०२२ सेप्टेम्बरमा ७० प्रतिशतको उच्च मूल्यवृद्धिकाे तुलनामा जुनसम्ममा मूल्यवृद्धि एक दशमलव सात प्रतिशतमा सीमित भएको छ ।

केन्द्रीय बैंकले कठिन परिस्थितिमा आर्थिक गतिविधिको पुनरुत्थानसहित निरन्तरता दिँदै सहज मौद्रिक अवस्था कायम राख्न ब्याजदर घटाएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

सन् २०२२ को बाह्य ऋणको पुनर्संरचना गर्ने अन्तिम चरणमा सरकारले यस महिनाको शुरुमा अन्तर्राष्ट्रिय निकायसँग पुनः भुक्तान सम्झौतालाई अन्तिम रूप दिएको थियो ।

गएको वर्षको दोस्रो त्रैमासिकदेखि अर्थतन्त्रमा सुधार आएको बैंकले जनाएको छ । यो वर्षको पहिलो तीन महिनामा ५ दशमलव ४ प्रतिशतले आर्थिक वृद्धि भएको छ ।

एजेन्सी

Comments

Back to top