जापानमा दिवालियापन १० वर्षयताकै उच्च स्तरमा

बढ्दो लागत, श्रमको अभाव र आर्थिक सहयोगमा आएको कमीका कारण जापानमा कर्पोरेट दिवालियापन वर्षको पहिलो छ महिनामा वार्षिक रूपमा २२ प्रतिशतले बढेर एक दशककै उच्चस्तरमा पुगेको क्रेडिट रिसर्च कम्पनीको हालैको सर्वेक्षणले देखाएको छ ।

जनवरीदेखि जुनसम्म कूल दिवालिया हुनेको सङ्ख्या चार हजार आठ सय ८७ पुगेको छ । यो सन् २०१४ यताकै उच्च रहेको टेइकोकु डाटा बैङ्कले आफ्नो पछिल्लो अनलाइन रिपोर्टमा उल्लेख गरेको छ ।

दिवालिया हुनेमा उद्योगका आधारमा सेवा उद्योगमा सबैभन्दा बढी एक हजार दुई सय २८ रहेका छन् । त्यसपछि खुद्रा क्षेत्रको एक हजार २९ र निर्माणमा नौ सय १७ रहेको तथ्याकंले देखाएको छ ।

यस अवधिमा साना तथा लघु उद्यमहरू सबैभन्दा बढी प्रभावित भएका छन् । बढ्दो लागत र बढ्दो श्रमिक अभावको बीचमा येनको निरन्तर अवमूल्यनका कारण आर्थिक परिदृश्य थप जटिल भएको छ ।

टेइकोकुले निजी खपतमा कमीबाहेक कर्पोरेट दिवालिया हुने सङ्ख्या अझ बढ्नसक्ने अनुमान गर्दै यो सम्भवतः सन् २०२४ को सम्पूर्ण वर्षमा १० हजारभन्दा बढी हुने बताएको छ।

जापानी कम्पनीहरूले जुन महिनामा मात्रै कूल आठ सय सात कानूनी लिक्विडेशन प्रक्रिया अघि बढाएका छन् । यो वार्षिक रूपमा वृद्धिको लगातार २६ औँ महिना हो । 

एजेन्सी

Comments

Back to top