जापानका झन्डै एक चौथाइ कम्पनीद्वारा कारोबारमा एआईको प्रयोग

जापानका झन्डै एक चौथाइ कम्पनीहरूले आफ्नो कारोबारमा कृत्रिम बाैद्धिकता अर्थात् 'आर्टिफिसिएल इन्टेलिजेन्स' (एआई) को प्रयोग गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार अहिलेसम्म एक चौथाइ कम्पनीले कारोबारमा एआईको प्रयोग गरेका छन् भने ४० प्रतिशत कम्पनीले कुनै न कुनै रूपमा एआई प्रयोगको योजना बनाएका छन् ।

निक्केई रिसर्चले रोयटर्सका लागि गरेको सर्वेक्षणले जुलाई ३ देखि १२ सम्म ५ सय ६ वटा कम्पनीलाई विभिन्न प्रश्नहरू सोधेको थियो । सर्वेक्षणअनुसार झन्डै २४ प्रतिशत उत्तरदाताले पहिले नै आफ्नो व्यवसायमा एआई प्रयोग गरेको, ३५ प्रतिशतले एआई प्रयोगको योजना बनाइरहेकाे र ४१ प्रतिशतले कुनै योजना नभएको बताएका थिए ।

सर्वेक्षणका ६० प्रतिशत उत्तरदाताले कामदारको अभाव हटाउनका लागि एआईको प्रयोग गर्ने योजना बनाएको बताएका थिए । ५३ प्रतिशतले श्रम लागत घटाउने र ३६ प्रतिशतले अनुसन्धान र विकासका लागि एआईको प्रयोग गर्ने योजना बनाएको बताएका छन् ।

तर एआई प्रयोग गर्दा प्राविधिक विशेषज्ञताको अभाव, खर्च धेरै र विश्वसनीयताको चिन्ता बढेको पनि देखिएको छ । १५ प्रतिशत उत्तरदाताले गएको वर्ष साइबर आक्रमण भएको गुनासो गरेका खबरमा उल्लेख छ ।

एजेन्सी

Comments

Back to top