अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र सुनको मूल्य अझै बढ्ने सम्भावना

अन्तर्राष्ट्रिय बजारमा सुन र कच्चा तेलको भाउ बढ्ने सम्भावना बढेको छ । अमेरिकामा मुद्रास्फीति दबाब कम हुँदै गएपछि अन्तर्राष्ट्रिय बजारमा सुन र तेलको मूल्य थप बढ्ने अनुमान विश्लेषकहरुले गरेका छन् ।

मुद्रास्फीति घट्दै जाँदा अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौति गर्ने सम्भावना बढेको छ । अमेरिकामा ब्याजदर कटौति हुँदाको असर कमोडिटिज बजारमा सुन र कच्चा तेलको भाउमा सकारात्मक असर पर्ने गर्छ ।

शुक्रबार सुनको मूल्य २४ सय १६ डलर पुगेको छ । शुक्रबारसम्म ब्रेन्ट क्रुड आयल प्रतिब्यारेल ८६ डलरभन्दा नजिक पुगेको छ । विश्लेषकहरुले सुन र ब्रेन्ट कच्चा तेलको मूल्य थप बढ्नसक्ने अनुमान गरेका छन् ।

अमेरिकामा मुद्रास्फीतिको दबाब कम हुँदै गएपछि गत बिहीबार सुनको मूल्य ४४ डलर बढेको थियो । तर शुक्रबार केही घटेको थियो ।

मुद्रास्फिति घट्दा केन्द्रीय बैंकले ब्याजदर घटाउने र त्यसपछि अर्थतन्त्र चलायमान हुँने हुँदा तेल र सुनको माग बढ्ने अनुमान गरिन्छ । यस्तै लगानीकर्ता पनि डलरमा गरिएको लगानी झिकेर सुनमा आकर्षित हुन्छन् । यहीकारण मुद्रास्फीति दर घट्दा यी दुई कमोडिटिको मूल्य बढ्ने अनुमान गरिएको हो ।

एजेन्सी

 

Comments

Back to top