प्रतिनिधि सभा बैठक कांग्रेसद्वारा अवरोध, १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभाको सोमबारको बैठक पनि कांग्रेसले अवरोध गरेको छ । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरू उठेका थिए । केही बेर नाराबाजी चलेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सभामुखले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद दिनेदेखि प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको जानकारी गराउँदै सदन सञ्चालनमा सहयोगका लागि आह्वान गरेका थिए ।

‘माननीय सदस्यहरूको मागको सम्बन्धमा ध्यानाकर्षण भएको छ’, सभामुखले भने ।

उनले कांग्रेस सांसदहरूलाई आसन ग्रहणका लागि आग्रह गरिरहँदा उनीहरू भने वेल घेराउ गर्न आइपुगेका थिए । उनीहरूले सहकारी ठगलाई कारबाही गर भन्ने जस्ता नारा लगाएका थिए ।

कांग्रेस सांसदहरूले वेल घेराउ गरिरहँदा राप्रपा र लोसपाका सांसदहरू भने यथास्थानमा उठेका थिए ।

सभामुखले भने संवैधानिक व्यवस्था अनुसार सरकारले आफूसँग विश्वासको मत छ भन्ने देखाउन चाहेमा त्यसलाई सघाउनुपर्ने बताए । त्यो सदनको दायित्व पनि भएको स्मरण गराए । विश्वासको मत लिने प्रस्तावमा छलफल गर्न र मतदानमा सघाउन आग्रह गरे ।

तर कांग्रेस सांसदहरूले नाराबाजी गर्न छाडेनन् । उनीहरूले सहकारी पीडितलाई न्याय दे, सहकारी ठगलाई कारबाही गर जस्ता नारा लगाइरहेका थिए ।

नाराबाजीका बीच सभामुखले प्रधानमन्त्रीलाई विश्वासको मत लिने प्रस्ताव पेश गर्न समय दिएका थिए। र उनले प्रधानमन्त्रीलाई रोस्ट्रमसम्म आउन सघाउन आग्रह गरेका थिए । तर अवरोध कायमै रहेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

एजेन्सी

 

Comments

Back to top