राष्ट्रपतिका सल्लाहकारलाई बर्खास्त गर्न नागरिक अगुवाको माग

सय रुपैयाँको नोटमा नेपालको नक्शा राख्ने विषयमा विवादित अभिव्यक्ति दिएका राष्ट्रपतिका सल्लाहकार चिरिञ्जीवी नेपाललाई बर्खास्त गर्न नागरिक अगुवाले माग गरेका छन्।

सरकारले सय रुपैयाँको नोटमा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्शा राख्ने निर्णय गरेको थियो। त्यस अनुसार राष्ट्र ब्यांकले पनि नोट छाप्ने जनाएको थियो। यसलाई लिएर राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार नेपालले विवादित टिप्पणी गरेका थिए। उनले सरकारको ‘अविवेकी निर्णय’ भनेका थिए।

नेपालको टिप्पणीलाई लिएर नागरिक अगुवाले विरोध जनाएका हुन्। बुधबार भारतका लागि राजदूत भइसकेका पूर्व मन्त्री नीलाम्बर आचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेल र लेखक एवं पत्रकार कनकमणि दीक्षितले संयुक्त विज्ञप्ति जारी गरी नेपाललाई सल्लाहकारबाट हटाउन राष्ट्रपति समक्ष माग गरेका छन्।

उनीहरूले भनेका छन्, ‘राष्ट्रपति संस्थाको गरिमालाई कायम राख्न हामी अविलम्ब राष्ट्रपतिको कार्यालयसँग माग गर्दछौं। साथै, सल्लाहकार चिरिञ्जीवी नेपाललाई तत्कालै पदबाट हटाउन माग गर्दछौं।’

एजेन्सी

Comments

Back to top