इजरायलको आदेशपछि हजाराैँ सर्वसाधारण गाजाको रफाह शहर छाड्दै

इजरायली सेनाले गाजाको दक्षिणी भेगमा रहेको पूर्व रफाह शहर छाड्न आदेश दिएपछि स्थानीयवासीले धमाधम शहर छाड्न थालेका छन् ।

रफाहमा झन्डै १५ लाख जना गाजाका शरणार्थी बस्छन् । तीमध्ये पूर्वी रफाहका एक लाख जनालाई तुरुन्तै शहर छाड्न इजरायलको सेनाले आदेश दिएको छ । इजरायली आदेशपछि हजारौँ सर्वसाधारणले शहर छाडिरहेका छन् । कोही पैदलै, कोही टेम्पु र साना गाडी चढेर तथा कोही खच्चरमा चढेर शहर छाडिरहेका देखिन्छन् । शहर छाड्नेमध्ये धेरैजसोले आफूहरूको जाने ठाउँ र खानेकुराकाे टुङ्गो नलगेको तर ज्यान बचाउनका लागि मात्रै शहर छाडेको गुनासो गरेका छन् ।

गाजा क्षेत्र तहसनहस हुनेगरी इजरायलले महिनौँदेखि आक्रमण गरिरहेको छ । गाजा ध्वस्त भएसँगै त्यहाँका बासिन्दा रफाहमा गएर बसेका थिए । गाजाको तुलनामा रफाहमा सहायता सामग्री पुर्‍यान केही सहज भएको थियो तर रफाहमै इजरायलले हमला गर्न थालेपछि सहायता सामग्री ढुवानी पनि अनिश्चित बनेको छ ।

संयुक्त राष्ट्र सङ्घसहित अन्य विश्वव्यापी मानवीय सङ्घ–संस्थाले रफाहमा आक्रमण गर्ने इजरायली तयारीको चर्को विरोध गरेका छन् । रफाहमा आक्रमण गर्दा एकातिर हजारौँ सर्वसाधारणको ज्यान जाने र अर्कोतिर मानवीय सहायता सामग्री पुर्‍याउन गाह्रो हुने सङ्घ–संस्थाहरूको भनाइ छ । 

एजेन्सी

Comments

Back to top