टी–२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी विश्वकप खेल्ने क्रिकेट टिमको बिदाइ गरिएको हो ।

नेपाली राष्ट्रिय टोली आइतबार अमेरिकातर्फ प्रस्थान गर्दैछ । आगामी जुन २ तारिख (जेठ २० गते) देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि नेपाली टिम आइतबार दुई चरणमा त्यसतर्फ जाने तालिका रहेको छ । 

नेपाली टिम आइतबार बिहान २ः३० बजे र दिउँसो गरी दुई चरणमा जाने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ ।

विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनोट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

टी–२० विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेका छन् ।

विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

एजेन्सी

Comments

Back to top