बेलको विशेष महत्व

तुलसी, पीपल, केराजस्तै बेलको रुखलाई पनि शास्त्रमा महत्वपूर्ण मानिएको छ । बेल रुखको काठ, पात, फूल र फल भगवान शिवको पूजामा विशेष प्रयोग गरिन्छ ।

धार्मिक ग्रन्थहरुमा भगवान शिवलाई जति महत्व दिइएको छ, त्यति नै महत्व बेलको रूखलाई दिइएको छ । बेलको रुखमा भगवान शिव, माता पार्वती, लक्ष्मीजीलगायत धेरै देवी–देवताको वास रहेको जनविश्वास छ ।

सामान्यतया कुनै रुखको फूल वा फल पूजामा प्रयोग गरिन्छ तर बेल एउटा त्यस्तो रूख हो जसको पात पनि पूजाका लागि पवित्र र महत्त्वपूर्ण मानिन्छ। शिवपुराणमा यसलाई दैवी वृक्षका रूपमा वर्णन गरिएको छ।

बेलपत्र भगवान शिवलाई धेरै प्रिय छ। त्यसैले भगवान शिवसँग सम्बन्धित सबै पूजामा बेलपत्र अवश्य चढाइन्छ। यस्तो अवस्थामा यो रूखसँग सम्बन्धित केहि महत्त्वपूर्ण कुराहरू जान्नु उपयुक्त हुन्छ ।

बेल रूखसँग सम्बन्धित यी गल्ती कहिल्यै नगर्नुहोस् :

शिव पुराणमा भनिएको छ कि सोमबारको दिन बेलको पात, फल तथा हाँगाहरू कहिल्यै टिप्नु हुँदैन।

सोमबारको पूजामा बेलपत्र चढाउन चाहनुहुन्छ भने एक दिन अगाडि बेलपत्र टिपेर राख्नुपर्छ । चतुर्थी, अष्टमी, नवमी, चतुर्दशी, अमावस्या र संक्रान्तिका दिन तथा सोमबारका दिन बेलपत्र हुँदैन । बेलको रूख कहिल्यै काट्नु हुँदैन। भनिन्छ, बेलको रुख काट्दा मानिसलाई दुःखले घेर्छ र परिवारमा विनाश देखापर्न थाल्छ । पातहरू कहिल्यै अपवित्र हुँदैनन्। त्यसैले पूजामा चढाइने बेलपत्रलाई पुनः अर्पण गर्न सकिन्छ।

बेल वृक्षको महत्व :
माता पार्वतीको पसिनाबाट बेलको रुखको उत्पत्ति भएको धार्मिक विश्वास छ । यसको जरामा गिरजा, रुखमा महेश्वरी, हाँगामा दक्षिणैनी, पातमा माता पार्वती, फलमा कात्यानी, फूलमा गौरी र सबै बोटमा माता लक्ष्मीको वास रहेको मानिन्छ । माता पार्वतीको पसिनाबाट जन्मनुभएका माता यो रुखमा सबै रूपमा वास गर्नुहुन्छ। शिव पुराणमा भनिएको छ – मृतकको शरीरमा बेलको छाया राखे मोक्ष र शिवलोक प्राप्त हुन्छ ।

पितृहरूलाई प्रसन्न तुल्याउन र उनीहरूको आशीर्वाद प्राप्त गर्नका साथै पितृ पापबाट मुक्ति पाउन बेलको रूख महत्त्वपूर्ण मानिन्छ। नियमित बेलको पानी पिउँदा पितृदोष हट्छ । वास्तु शास्त्र अनुसार घरको उत्तर-पश्चिम दिशामा बेलको रुख रोप्दा समृद्धि बढ्छ र घर सुख एवं सौभाग्यले भरिन्छ।

बिल्वाष्टक स्तोत्रका अनुसार “दर्शनम् बिल्ववृक्षस्य स्पर्शनम् पापनाशनम्, अघोरपापासन्हारम् एक बिल्वम शिवार्पणम्” अर्थात् बेलको रूखको स्पर्श र दर्शनले मानिसका सबै पाप नष्ट हुन्छन्। शिवलाई अर्पण गर्ने बेलपत्रले घोर पाप नष्ट गर्छ।

Comments

Back to top