तेस्रो लगानी सम्मेलन आगामी वैशाख १६ गतेदेखि

सरकारले आउने वैशाख १६ गतेदेखि तेस्रो लगानी सम्मेलनको आयोजना गर्ने भएको छ।

तेस्रो लगानी सम्मेलन २०८१ अन्तर्गतको निर्देशक समितिको तेस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी सम्मेलन वैशाख १६ र १७ गते गर्न लागिएको र त्यसको तयारीसमेत तीब्र गरिएको जानकारी दिए।

बैठकमा अर्थमन्त्री महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबाट चासो प्राप्त भइरहेको बताउँदै गम्भीरताका साथ परियोजनाहरूको तयारी गर्न आग्रह गरे।

उनले भने, ‘मौजुदा कानून, नीति र संरचनागत सुधारको सन्दर्भमा आवश्यक सुझावलाई समेत मध्यनजर गर्दै परिमार्जनसहित पास गर्ने तथा लगानीयोग्य आयोजनाहरू तयारी गर्न गठित प्राविधिक उपसमितिलाई आग्रह गर्दछु।’

सम्मेलनलाई लिएर सरकार लचिलो बन्ने अर्थमन्त्री महतको भनाइ छ।

लगानीकर्तालाई यो वा त्यो नाममा कन्डिसन नराख्ने भन्दै उनले युएईको कर होलिडे जस्तै माहोल नेपालमा बनाउन सक्नुपर्ने बताए।

उनले थपे, ‘त्यस्तै किसिमको माहोल हामीले नेपालमा बनाउन सक्छौँ। अहिले अन्तर्राष्ट्रिय आकर्षण पनि बढेको अवस्थालाई हामीले ग्राब गर्नुपर्छ।’

सम्मेलनलाई लिएर विदेशीलाई मात्र नभई आन्तरिक निजी लगानीकर्तालाई पनि उत्साहित गर्ने गरी आफूहरूले आवश्यक कानून परिमार्जनलाई तीब्रता दिने मन्त्री महतको भनाइ छ।

 

Comments

Back to top