माघ २५ देखि भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक’

सूचना प्रविधिसम्बन्धी मुलुककै सबैभन्दा ठूलो प्रदर्शनी यही माघको अन्तिम साता आयोजना हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल (क्यान) यो सालको ‘क्यान इन्फोटेक’ माघ २५ गतेदेखि २९ सम्म सञ्चालन गर्ने भएको हो । बिहीबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर क्यानले उक्त मेलाबारे जानकारी गराएको छ ।

हरेक सालजस्तै यस पालि पनि इन्फोटेक मेला काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । क्यान महासंघले आयोजना गर्ने यस प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् । क्यान इन्फोटेकमा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम प्रविधि तथा सेवाको विशेष प्रदर्शनी हुने गरेको छ ।

प्रदर्शनीलाई सफल रुपमा सम्पन्न गर्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु लगायतका संस्थाले सहयोग गरेका छन् ।

मेलाको टिकेट इसेवामार्फत काट्‍ने सकिने छ । जसअन्तर्गत सर्वसाधारणका लागि रु. १०० र विद्यार्थीका लागि रू. ५० रुपैयाँ शुल्क तोकिएको छ ।

यसवर्ष क्यान इन्फोटेकमा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सीस्टम ‘कान्छी’ रोबोटको बेटा संस्करण सार्वजनिक गरिने आयोजकले जनाएको छ । साथै एनपीसर्ट र सीएसआरआईको पहलमा साइबर सेक्युरीटी हेल्प डेस्कसमेत सञ्‍चालन गरिने क्यान महासंघले जनाएको छ ।

Comments

Back to top