हेटौँडा सिमेन्ट उद्योगको उत्पादन ५ महिनादेखि शून्य

कोइला अभाव भएपछि हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ ।

सिमेन्ट उत्पादन नभएपछि सरकारको स्वामित्वमा सञ्चालित उद्योगका प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन् । दैनिक सात सय पचास मेट्रिक टन सिमेन्ट उत्पादन हुनुपर्ने उद्योगबाट असोजदेखि उत्पादन शून्य भएको छ ।

बितेको चार आर्थिक वर्षदेखि निरन्तर घाटामा रहेको उद्योगबाट सिमेन्ट उत्पादन नहुँदा थप आर्थिक समस्या बढ्दै गएको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताए । रकम अभावले कोइलासमेत किन्न समस्या भइरहेको उनको भनाइ छ।

आर्थिक वर्ष २०७६–७७ देखि २०७८–७९ सम्ममा उद्योगलाई ६५ करोड ४७ लाख १६ हजार सात सय ८२ रुपैयाँ नोक्सान भएको थियो । गएको आर्थिक वर्षमा मात्र २३ करोड ५५ लाख रुपैयाँ नोक्सान भएको थियो । उद्योगमा अहिले ज्यालादारी तथा स्थायी गरी झन्डै तीन सय जना कर्मचारी कार्यरत छन् ।

हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित शिवम् र ऋद्धिसिद्ध सिमेन्ट उद्योगले भने सिमेन्ट उत्पादन गरिरहेका छन् ।

Comments

Back to top