नेपाल एयरलाइन्सले सुर्खेतबाट चाँडै उडान गर्ने

नेपाल वायुसेवा निगमले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ।

कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको संचालनका सन्दर्भमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग रक्षा मन्त्रालयमा छलफल गरेको छ। 

छलफलका क्रममा उपप्रधानमन्त्री खड्काले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्ला जुम्ला, हुम्ला, सिमिकोट, ताल्चा, डोल्पालगायतका गन्तव्यको उडान प्रारम्भ गर्न प्राथमिकता दिएर चाँडो भन्दा चाँडो रफ्तारकासाथ काम गर्न आग्रह गरे ।

छलफलमा नेपाल वायुसेवा निगमका अध्यक्ष सहित सुर्खेतबाट हवाई सेवा दिने व्यवस्था मिलाउन गठित समितिका पदाधिकारीहरूको समेत सहभागिता थियो। छलफलमा उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट अन्य जिल्लामा हवाई सेवा दिने नेपाल एयरलाइन्सको दीर्घकालीन व्यावसायिक योजनामा आफ्नो, संघीय सरकार र प्रदेश सरकारको साथ, सहयोग र समर्थन रहेको बताए  ।

नेपाल वायुसेवा निगमका अधिकारी र उपप्रधानमन्त्री खड्काबीच चाँडै सुर्खेतबाट हवाई सेवा सुरु गर्न र त्यसको तयारीको लागि सुर्खेतमा नेपाल एयरलाईन्सको कार्यालय यथाशीघ्र स्थापना गर्ने बिषयमा समेत छलफल भएको थियो।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले सुर्खेतबाट उडानको तयारी भइरहेको बताए । यसका लागि समिति पनि गठन गरिएको छ”, अध्यक्ष अधिकारीले भने “हामी सुर्खेतबाट हवाईसेवा दिन तयारी गरिरहेका छौं ।”

उपप्रधानमन्त्री खड्कासँगको छलफलको क्रममा गठित समितिका सदस्य सचिव दीपेश पुनले माघभित्र तयारी पूरा गरी फाल्गुनदेखि सुर्खेतबाट उडान गर्ने लक्ष्यका साथ काम अघि बढाउने बताए ।

Comments

Back to top