गृह मन्त्रालयको स्थापना कहिले भएको थियो ?

देशको शान्ति सुरक्षा कायम गर्ने निकाय हो गृह मन्त्रालय । नेपालमा गृह मन्त्रालयको स्थापन २००८ सालमा भएको हो ।

वि.सं. २०१७ सालपछि गृह मन्त्रालयको नाम परिवर्तन गरी तत्कालिन राजा महेन्द्रले गृह पञ्चायत मन्त्रालयको गठन गरेका थिए । राजाले २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरी अंचलाधीश र प्रमुख जिल्ला अधिकारीको व्यवस्था गरेका थिए ।

स्थानीय प्रशासन ऐन, २०२८ प्रारम्भ भएपछि अंचलाधीश र प्र.जि.अ.को काम कर्तव्य र अधिकार कानुनी रुपमा व्यवस्थित भएको थियो । त्यसपछि वि.सं. २०३७ सालमा गृह पञ्चायत मन्त्रालय विभाजित भएको थियो । पञ्चायत सम्वन्धी काम छुट्याई सो सम्वन्धी काम गर्ने छुट्टै स्थानीय विकास मन्त्रालयको गठन भएपछि गृह मन्त्रालयको मूख्य कार्यभार शान्ति सुव्यवस्था र स्थानीय प्रशासनका केन्द्रीत भएको थियो।

नेपालको संविधान २०७२ जारी भएपछि नेपालमा जिल्लाको संख्या ७७ पुगेको छ । जिल्ला कायम भएबमोजिम मन्त्रालय अन्तर्गत ७७ जिल्ला प्रशासन कार्यालयहरु रहेका छन् । ७७ ओटै जिल्लामा गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीका रुपमा आफ्ना कर्मचारी खटाउने गर्दछ ।

गृह मन्त्रालयको मुख्य उद्देश्य मुलुकमा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ धन र स्वतन्त्रताको संरक्षण गर्नु हो । गृह प्रशासनलाई सबल र सक्षम बनाई जनतामा सुरक्षाको अनुभूति दिलाउन र सेवा प्रवाहलाई प्रभावकारी बनाइ सुशासन कायम गर्न विभिन्न विभाग र निकायहरु कृयाशिल छन ।

हाल गृह मन्त्रालय मातहत राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग तथा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय र सुरक्षा निकायका रुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी वल लगायतका निकायहरु केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील छन् ।

नेपालको प्रचलित संविधान तथा कानुनद्वारा प्रत्याभूत नागरिक स्वतन्त्रता, विधिको शासन, मानव अधिकार लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई सम्मान गर्ने गरी कार्य गर्नु गृह प्रशासनको दृष्टिकोण हो।

जनताको माग र आधारभूत आवश्यकता अनुरूप गृह प्रशासनलाई सञ्चालन गरी देशमा भरपर्दो शान्ति सुरक्षा प्रदान गर्नु गृह प्रशासनको लक्ष्य रहेको छ।

 

Comments

Back to top