शालिग्रामको धार्मिक महत्त्व के छ ?

आचार्यका अनुसार भगवान विष्णु पतिब्रता वृन्दाको श्रापका कारण शिलास्वरूप भई गण्डकीक्षेत्रमा रहनुभएकाले शालिग्रामलाई भगवान् विष्णुको अंश मानेर हिन्दूधर्मावलम्वीले पूजा गर्ने गर्दछन् ।

त्यसका साथै पञ्चतत्वले बनेको मानव शरीर संरक्षण र सम्बर्धन गर्न गणेश, शिव, विष्णु, देवी, सूर्यस्वरूप पाञ्चायन पूजा गर्ने गरिन्छ । मृत्युशैयामा रहँदा शालिग्रामको जल, कुशको आसन, मुखमा तुलसी रहेमा त्यस व्यक्तिलाई मोक्ष प्राप्त हुने विष्णु पुराणमा उल्लेख छ ।

ब्रह्मपुराणमा पनि शालिग्रामबारे चर्चा गरिएको छ । सो पुराणमा शालिग्रामको आकार, लक्षण र वर्णको विस्तारपूर्वक वर्णन गरिएको छ । त्यसमा उल्लेख भएअनुसार शालिग्राम पूजाबाट जीवनको परम उद्देश्य धर्म, अर्थ, काम र मोक्ष चारै किसिमका पुरुषार्थ प्राप्त हुन्छन् ।

शालिग्राममा प्राकृतिकरुपमा नै शङ्ख, चक्र, गदा, पद्म आकार कुँदिएको पाइन्छ । यस्ता चिन्ह अङ्कित शिला अत्यन्त कम मात्रामा भेटिने र ती बहुमूल्य हुने बताइन्छ। स्कन्दपुराणमा उल्लेख भएअनुसार यस्ता शिलाबाट सर्पभय, अग्निभय, दुःख, दारिद्रय नास हुन्छ।

केवल पद्म आकारको शिला पनि शुभदायक हुन्छ । कुनै शिलालाई वराह शिला भनिन्छ । शूल र कमलको चिहृन अङ्कित शिलालाई ‘वैनतेय’ शिला भनिन्छ ।

धार्मिक ग्रन्थमा टुक्रिएको, टुटेफुटेको शालिग्राम पूजा गर्नु हुँदैन भनिएको छ । दाम्पत्यजीवन सफल र सौभाग्यशाली बनाउन चाहनेले तुलसीदल विना शालिग्राम पूजन गर्नु हुँदैन भनिएको छ ।

ब्रह्मपुराणले जलमा रहेको शालिग्राम नरम र जमिनमा रहेको कडा तथा सुख्खा हुन्छ भनेको छ । दुवै शिला पुजनीय छन् । घरमा पूजा गर्ने शालिग्राम कालो चिल्लो हुनुपर्छ भनिएको छ ।

शालिग्रामको नित्य उपासना गर्ने व्यक्ति निरोगी र पूर्ण आयुको हुने र उसका ब्रहृमहत्यादि ठूला पाप भए पनि सबै पखालिने कुरा स्कन्दपुराण हिमवत्खण्डमा बताइएको छ ।

मृत्युपछि वैकुण्ठबास चाहनेले हरदम शालिग्रामको उपासना गर्नुपर्ने विषयको चर्चा पुराणमा छ । पितृश्राद्धमा शालिग्रामको जल, विष्णुपादुका अनिवार्य मानिन्छ ।

Comments

Back to top