अस्ट्रेलियाकी डेढ वर्षिया बालिका लुसीको सगरमाथा आधार शिविरसम्मको रोचक कथा

अस्ट्रेलिया पर्थकी एक डेढ वर्षिया बालिकाले सबैभन्दा कम उमेरमै सगरमाथाको आधार शिविर पुग्ने किर्तिमान बनाएकी छन् ।

विश्वका निकै कम मानिसले आफ्नो जीवनकालमा सगरमाथा आधार शिविरमा पुगेको दाबी गर्न सक्छन् तर पर्थको एक बच्चाले आफ्नो दोस्रो जन्मदिन मनाउनु अगावै सर्वोच्च शिखरको आधार शिविर पुगेर विश्वको ध्यान केन्द्रित गराएकी छन् ।

१८ महिने लुसी ब्राउन तेस्रो पुस्ताको सगरमाथा आरोही बनेकी छन् । उनका हजुरबुबा रे ब्राउन वेस्ट अस्ट्रेलियबाट शिखरमा पुग्ने पहिलो व्यक्ति हुन् । अठार महिनाकी लुसी ब्राउन, उनका आमाबुवा र उनकी ६५ वर्षीया हजुरआमाले गत वर्ष नोभेम्बरमा ५,३६४ मिटरको उचाइमा रहेको नेपालको आधार शिविरसम्मको कठिन पदयात्रा पूरा गरेका हुन् ।

लुसीका बुबा स्कट ब्राउनले भने, “यो एकदम विशेष अनुभव थियो । यसकालागि डेढ वर्षिया छोरीलाई धेरै प्रशिक्षण दियौं त्यही भएर पनि छोरी सकुशल बेस क्याम्पसम्म पुग्न सफल भइन् । एक वर्षको निरन्तर प्रशिक्षणपछि ब्राउन परिवारले डेढ वर्षिया छोरीलाई लिएर बेस क्याम्प जाने साहस जुटाएको थियो ।

आफ्नो हजुरबुबाको सम्झनामा १८ महिने नातिनी आधार शिविरसम्म पुगेको समाचार विश्वका लागि रोचक बनेको छ ।

लुसीका हजुरबुबा को थिए ?

लुसीका दिवंगत हजुरबुवा रे ब्राउन सन् १९९९ मा सगरमाथा आरोहण गर्ने पहिलो पश्चिमी अस्ट्रेलियाली थिए । उनै रे कि नातिनीले आधार शिविरमा पुग्ने सबैभन्दा कान्छी अष्ट्रेलियाली बच्चाको रूपमा आफ्नै रेकर्ड बनाएकी छन् ।

अहिले ४० वर्ष पुगेका लुसीका बुबा स्कट ब्राउनले आफ्नो १० औं जन्मदिन सगरमाथाको आधार शिविरमा आफ्ना स्वर्गीय बुबा रे सँग मनाएका थिए ।

त्यसपछि आफ्नो २० औं जन्मदिनमा उनी बुबाको सम्मान नेपाली स्थानीयले बनाएको स्मारक स्थलको भ्रमण गर्न आएका थिए । त्यसको १० वर्षपछि स्कटले ३० औं जन्मदिन पनि आधार शिविरमै आएर मनाएका थिए । ४० औं जन्मदिनमा भने स्कटले डेढ वर्षिया छोरी लुसी, श्रीमती र आमालाई समेत आधार शिविर ल्याएका हुन् ।

हरेक वर्ष करिब ३० देखि ४० हजार मानिस सगरमाथा आधार शिविरको पदयात्राका लागि निस्कने गर्छन् तर धेरैले यात्रा पुरा नगरी फर्कने गरेका छन् । स्वर्गिय पिता रेको आशिर्वादले आफुहरुले आधार शिविरसम्मको यात्रा सफलता पूर्वक गर्न सकेको स्कटको विश्वास छ । पद यात्राका क्रममा जति उचाई बढ्दै जान्थ्यो हावामा अक्सिजन कम हुँदै जान्थ्यो तर पनि लुसीले त्यसलाई सहन सकिन् ।

स्कटको बुझाईमा यो एक भावनात्मक यात्रा थियो त्यही भएर पनि सम्भव भयो । आधार शिविर पुगेर फर्किएकोमा जति खुशी मिलेको छ स्कटलाई त्यो भन्दा बढी बिस्मात चाँही बुबा अझै जीवित भइदिएको भए नातिनीले आधार शिविर पुगेको देख्दा उहाँले प्रकट गर्ने गर्व र खुशी देख्न नपाएकोमा दुख लागेको छ ।

स्कटले भने – मेरो छोरीका लागि २५ वर्ष अगाडि उनका हजुरबुबा सगरमाथाको चुचुरोमा बस्नु भएको थाहा पाउनु र परिवारसँग त्यही ठाउँमा गएर बस्न पाउनु यो सुन्दर निकै सुन्दर पक्ष हो ।

एबीसी न्यूजबाट

 

 

Comments

Back to top