देशमै केही गर्ने सोच र त्यसले दिलाएको सफलता…

यदी तपाईं पुस्तक प्रेमी हुनुहुन्छ र संसारमा राम्रा प्रभाव छोड्ने पुस्तकहरु छानेर पढ्ने बानी छ भने तपाईंले रोबर्ट टि किवोसाकी को ‘रिच ड्याड पुअर ड्याड’ पक्कै पढ्नुभएको होला। उक्त पुस्तकमा लेखकले आफ्नो जन्म र कर्म दिने दुई बाबुहरु मार्फत पाएको फरक फरक ज्ञानलाई समायोजन गर्दै कसरी सफल भए भन्ने उल्लेख गरेका छन् ।

यसका अलवा उनले व्यक्तिलाई आफ्नो करियर छान्ने काम कति कठिन छ र यसको उपयुक्त निर्णय कसरी लिने भन्ने पनि प्रस्ट पारेका छन् । लेखकले भनेजस्तै भबिस्यको निर्णय लिँदा र प्रतिकुल पारिवारिक वातावरणका बाबजुद आफ्नै निर्णयबाट सफल भएका व्यक्ति हुने बिष्णु पोखरेल ।

‌काठमाडौंको हाडिगाँउमा रहेको न्यु सनसाइन सेकेण्डरी स्कुलका प्रिन्सिपल हुन् पोखरेल। पाँचथर स्थायी ठेगाना भएका उनी आर्मी परिवारको कडा अनुशासनमा हुर्किएका थिए । परिवारका अधिकाँश सदस्य र आफन्तहरु सबै आर्मी पेशामा लागेकाले उनी पनि आर्मी अफिसर बन्ने अपेक्षा परिवारको थियो। स्वयं उनलाई पनि त्यस्तै लाग्थ्यो। सिमावर्ती जिल्लाको बासिन्दा भएको हिसाबले उनले आफ्नो शिक्षा भारतबाट पूरा गरे। त्यहाँबाट ग्राजुएसन गरेपछि भने उनलाई सबैजना गाउँघर र देश छोडेर हिड्ने कुरा मन परेन र आयो देशमै बसेर आफ्नो मातृभुमी सिगार्ने सोच। उनको यो सोचमा परिवारले समेत एकजना अर्को पेशा लिदा फरक पर्दैन भनेर सहर्ष स्विकार्यो।

झापा गएर त्यहाँ उनले शिक्षकको रुपमा करिब १४ बर्ष काम गरे। त्यो बेला उनी दिउसोको समयमा एउटा स्कुलमा पढाउथे भने बिहान र बेलुका ट्युसन पढाउने काम गर्थे । त्यतिबेलाको मेहनत सम्झिदा अहिले उनी आफैलाइ अचम्म लाग्छ । यसरी त्यहाँ दिनरात दुःख गर्दा उनलाई आफै केही गरौ र उद्यमी बनौ भन्ने सोच आयो र योजना बनाउनतिर लागे। झापामै केही गर्छु भन्दा उनलाई आफ्ना दुई छोराछोरीको उपयुक्त शिक्षाको प्रबन्ध गर्नु चुनौतीपूर्ण लाग्यो। तत्कालीन अबस्थामा देशमा चर्किदै गएको द्वन्द्वले पनि त्यहाँ काम सुरु गर्ने अवस्था भएन। यी समस्याको समाधान खोज्दै उनी काठमाडौं छिरे।

काठमाडौं आएपछि उनको भेट केही गर्नुपर्छ भन्ने उस्तै सोच राख्ने अन्य दुई साथीसँग भयो। हालसम्म पनि उनको विद्यालयमा व्यवस्थापन समिति अध्यक्ष रहेका हरिराम लम्सालसहित को सहकार्यमा सुरु भयो न्यु सनसाइन स्कुल। लम्सालको सक्रियता, पोखरेललाई चिनेका र विश्वास गर्ने अभिभावकको साथ आदीले यो विद्यालयले चाडै आफ्नो लय समात्न सफल भयो। यसका अलवा उनी सफल हुनुमा आफ्नो लगनशीलता र मेहनत, पशुपतिनाथको आशीर्वाद र संगै हातमा हात मिलाइ आफूसँगै शिक्षा क्षेत्रमै सहकार्य गरिरहेकी जीवनसाथीको निरन्तरको साथलाई लिन्छन् ।

न्यु सनसाइन स्कुललाई यो सफलता दिलाउने मन्त्र के हो भन्ने हाम्रो प्रश्नमा पोख्रेल भन्छन्, ‘शिक्षाको गुणस्तर, अतिरिक्त क्रियाकलापमा जोड, मध्यम बर्गिय परिवारको सहयोग र सेवाको भावना नै हाम्रो सफलताको मुल मन्त्र हो ।’ आफ्नो विद्यालयको विकासका अलवा उनले अन्य छिमेकी विद्यालयहरुको समेत एउटा समूह बनाइ त्यसको नेतृत्व गरिरहेका छन् । सुरुमा सेन्ट अप परिक्षा संचालन गर्न र परिक्षा केन्द्र नजिकै पार्न संगठित भएका विद्यालयहरुलाई एउटा परिवार बनाइ साझा हितका लागि प्रयोग गर्न पाए हुन्थ्यो भन्ने उनलाई लागेपछी उनकै सक्रियतामा ‘प्रोग्रेसीभ एजुकेशनल फोरम’ को स्थापना भयो। प्याब्सनका सदस्य विद्यालयहरु सदस्य रहने गरि यसकै भातृ संगठनका रूपमा सुरु भएको यो फोरमले अन्तरविद्यालय खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलाप, एसइइ सम्मान, उत्कृष्ट शिक्षक शिक्षिका सम्मान तथा प्रोत्साहन आदी कार्यहरु गर्दै आएको छ। नेपाल आइडल जित्न सफल सज्जा मैनाली यही फोरमबाट सुरु गरेर अहिले यहाँसम्म पुगेको बताउँदै उनी भन्छन्,‘विद्यालय स्तरमा हुने यस्ता विभिन्न क्रियाकलापले विद्यार्थीलाई तिखार्ने र उनीहरुभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुठिट गराउने काम गर्छ।’ यसो गर्दा उनीहरुको भविश्य अझ उज्वल हुने उनको धारणा छ।

अबसरसँगै हरेक क्षेत्रमा चुनौती रहेको बताउने पोख्रेल चुनौती छ भनेर आत्तिनु नहुने धारणा राख्छन् । ‘ढिलो चाडो भन्ने त होला तर हिड्दै गर्दा एकदिन अबस्य गन्तब्य भेटिन्छ ।’ मानिसका रहर अनगिन्ती हुने भन्दै उनी अगाडि भन्छन्, ‘हाम्रा सबै सोच र सपनाहरु परा नभएपनि केही त पूरा हुन्छन्, हामी त्यसैमा सन्तुष्ट हुनुपर्छ ।’ उनका अनुसार आत्मसन्तुष्टि पनि एकप्रकारको सुख हो। आफ्नै देशमा बसेर माटोको सेवा गर्न पाउनु गर्भको विषय भएको बताउने पोख्रेल आफुले पैत्रिक सम्पत्तिको कुनै प्रयोग नगरी आफ्नै बलबुताले आजको स्थितिमा आइपुगेको बताउँछन् ।

आफुले काम सुरुगर्दा -१०० बाट सुरु गरेको हुँदा त्यसलाइ शुन्यमा झार्न एक किसिमको संघर्स गरेको र शुन्यबाट माथी लान अर्को चरण को दु:ख भएको हुदा त्यो भन्दा बडी संघर्स अरु नहुने उनि बताउँछन् । मधयम वर्गिय परिवारको सदस्यले आफ्नो बिगत हेरेर त्यता रुमलिने भन्दा त्यो स्थितिमाथि उठाउन सोच्नुपर्ने उनको भनाइ छ। यसको लागि ‘फलाम तातेकै बेला घन हान’ भन्ने भनाइको मर्म बुझ्दै उपयुक्त समयमा उपयुक्त योजना सहित लाग्नुपर्ने उनको दृस्ठिकोण छ।

युबालाइ आफ्नो परिश्रमले देश परिवर्तन गर्ने शक्ति राख्ने नवजवानको संज्ञा दिने पोख्रेल नेपाली युबाहरु बिदेशीनु पर्ने अबस्थानै नरहेको बताउछन् ।। कवाडी सामान उठाउने, गाडामा फलफुल बेच्नेहरुले समेत राम्रो सफलता पाइरहेको उदाहारण प्रस्तुत गर्दै देशमा राम्रो अवसर छैन भन्नुु लज्जास्पद रहेको उनको भनाइ छ। योजना बनाउने मात्रै नभई त्यसको सफल कार्यान्वयन गर्नुपनि उत्तिकै महत्त्वपूर्ण रहेको बताउदै उनी त्यसका लागि सिर्जनात्मक उपाय र कडा मेहनत आबस्यक रहेको बताउँछन् । हामीमा श्रमको सम्मान गर्ने बानी हुने हो र विदेशमा गर्न तयार भएका कामहरु यहीँ गर्ने हो भने यो देश समृद्ध र हामी नेपाली सुखी हुने दिन टाढा नरहेको पोख्रेलको भनाइ छ।

थोरै धन र धेरै मेहनत  लगानी गरेर व्यवसायमा होमिएका पोखरेल अहिले सफल ब्यक्ति भएका छन् । विद्यालयको भौतिक सम्पतिले मात्र होइन समाजले उनलाई गर्ने सम्मान र इज्जतले पनि उनलाई ठूलो आत्मासन्तुष्टि मिलेको छ । चाहेको कुुरा पुरा गर्न जस्तोसुकै परिस्थितिको पनि सामाना गर्दै अघि बढे सफलताको शिखर चुम्न सकिन्छ भन्ने उदाहारण बनेका छन् पोखरेल ।

Comments

Back to top