सन् २०२३ का मुख्य ७ विश्व घटना!

१. भारत विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश

सन् २०२३ अघि चीन विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश थियो । सन् २०२३ मा चीनलाई उछिन्दै भारत संसारको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश बन्यो ।

करिब ६ दशक यता चीनको जनसङ्ख्या निरन्तर घनात्मक थियो । त्यसलाई नियन्त्रण गर्न चीन सरकारले सन् १९८० देखि सन् २०१६ सम्म ३६ वर्ष एक बच्चा नीति लागू गरेको थियो । सन् १९६८ यता सन् २०२२ मा आएर बल्ल पहिलोपटक चीनको जनसङ्ख्या  ऋणात्मक बन्यो । त्यसको एक वर्षपछि सन् २०२३ मा चीनलाई भारतको जनसङ्ख्याले उछिन्यो ।

सन् २०२३ मा भारतको जनसङ्ख्या १ अर्ब ४२ करोड ८७ लाख पुग्यो भने चीनको १ अर्ब ४२ करोड ५६ लाखमा रह्यो ।

२. नगर्नो-काराबाखमाथि अजरबैजानको नियन्त्रण

सन् १९८८ अर्थात् सोभियत शासनकालदेखि नै अर्मेनिया र अजरबैजानबीच नगर्नो-काराबाख क्षेत्रलाई लिएर तनाव र द्वन्द्व रहँदै आएको थियो । अर्मेनियाली र अजरबैजानी दुवै जातीय समुदाय भएको वस्ती भएको यो प्रदेशमा बाकु वा येरेभान कसको शासन चल्ने भन्ने विवाद थियो ।

सन् १९९१ को अन्त्यतिर नगर्नो-काराबाखका पृथकतावादीले दुवै देशमा नगएर भिन्नै नगर्नो-काराबाखको स्वतन्त्रताको घोषणा गरेका थिए । सन् २०२३ मा यो क्षेत्रमा पृथकतावादीलाई पराजित गर्दै अजरबैजानले नियन्त्रण जमाएको छ । यो कति दीगो हुन्छ, यसै भन्न सकिन्न तर ३५ वर्ष लामो द्वन्द्व सन् २०२३ मा अन्त्य भएको छ ।

तर, दूर्भाग्यको कुरा नगर्नो-काराबाख क्षेत्रका करिब ८५ प्रतिशत अर्मेनियाली भने यो क्षेत्र छोडेर अर्मेनियातिर पलायन भएका छन् ।

३. भारत बन्यो चन्द्र विजयी राष्ट्र

भारतको अन्तरिक्ष संस्था इसरोले लामो समयदेखि चन्द्रमामा मानवरहित यान पठाउने प्रयास गरिरहेको थियो, तर सफल भएको थिएन । चन्द्रमामा मानवसहितको यान पठाउने एक मात्र देश अहिलेसम्म पनि अमेरिका मात्रै हो । तर, मानवरहित यान पठाउन भने तत्कालीन सोभियत सङ्घ र चीन गरी ३ राष्ट्र ‘लुनर पावर’ का रूपमा स्थापित थिए । भलै कि सोभियत सङ्घको विघटनपछि त्यसको सबैभन्दा ठूलो उत्तराधिकार राष्ट्र रुस यस कार्यमा असफल रहँदै आएको छ ।

सन् २०२३ को जुलाई १४ मा भारतले चन्द्रयान ३ सतिस धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरेको थियो भने अगस्ट २३ मा चन्द्रयान ३ चन्द्रमाको सतहमा अवतरण गरेको थियो । विश्वमा अब चार लुनार पावर भएका छन्, अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारत ।

४. राजा चार्ल्स तृतीयको राज्याभिषेक

ब्रिटेनको राजतन्त्रलाई संसारकै अनौठो मानिन्छ । ब्रिटेनलाई संसदीय लोकतन्त्रको जननी मुलुक पनि भनिन्छ भने त्यहाँ संवैधानिक राजतन्त्र पनि कायमै छ । अझ अनौठो कुरा; ब्रिटेनको राजतन्त्रलाई अझै क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्डलगायत संसारका १५ कमनवेल्थ मुलुकले आफ्नो राज्य प्रमुख मान्दछन् ।

सन् २०२३ मा बेलायतमा नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक भयो । उनकी आमा महारानी एलिजाबेथ द्वितियको सन् २०२२ को सेप्टेम्बर ८ मा ९६ वर्षको उमेरमा निधन भएको थियो । उनी ब्रिटिस राजतन्त्रको इतिहासमा सबैभन्दा धेरै करिब ७१ वर्ष राज्य प्रमुख भएकी थिइन् ।

५. एआई चमत्कारको पराकाष्ठा

कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई ) को चर्चा त धेरै अघिदेखि हुँदै आएको थियो । तर, यसले कुन हदसम्म काम गर्छ र के-कस्ता प्रभाव पर्न सक्दछ भन्ने व्यावहारिक परीक्षणको वर्ष भने सन् २०२३ बन्यो ।

सन् २०२३ मा प्रारम्भ भएको एआई च्याटजिपिटी एआईका पूर्ववर्ती मोडेलभन्दा १० गुणा बढी उन्नत र प्रभावकारी देखियो । आज संसारका थुप्रै सूचना प्रविधि उद्योगले एआईमा लगानी बढाउने घोषणा गरेका छन् भने अर्कोतिर उन्नत एआईको प्रयोगसँगै मानव श्रम तथा बौद्धिकताको अवमूल्यन हुने र बौद्धिक बेरोजगारी बढ्ने चिन्ता थपिएको छ ।

६. हमास-इजरायल युद्ध

सन् २०२३ को अक्टोबर ७ मा गाजा क्षेत्र नियन्त्रण गरेर बसेको प्यालिस्टाइनी विद्रोही समूह हमासले इजरायलमाथि घातक आक्रमण गर्‍यो । गाजा क्षेत्रमा विगत १६ वर्षदेखि इजरायलको नाकाबन्दीले हमास प्रशासन हैरान थियो । हमास आक्रमण निक्कै घातक र क्रूर थियो । आक्रमणको पहिलो दिन नै करिब २४० इजरायली मारिएका थिए ।

तर, त्यसलगत्तै इजरायलले उत्तिकै क्रूर प्रतिआक्रमण गर्‍यो । फलत प्यालेस्टाइनी पक्षमा २०,००० बढी मानिसको मृत्यु भएको छ भने गाजा सहर ध्वंस्तजस्तै भएको छ । सन् १९४७ मा इजरायलको स्थापनायता प्यालेस्टाइन र इजरायलबीच बारम्बार युद्ध हुँदै आएका थिए । तर, पछिल्लो सबैभन्दा भयानक युद्ध सन् २०२३ अक्टोबर ७ बाट सुरू भएको छ । यो युद्ध कति समय चल्ला र अन्तिम परिणाम के देला कसैले भन्न सक्ने अवस्था छैन ।

७. इतिहासकै सबैभन्दा तातो वर्ष

जलवायुसम्बन्धी अभिलेख राख्ने विश्व संस्थाले सन् २०२३ को अक्टोबर महिनालाई विश्व इतिहासकै सबैभन्दा धेरै तापमान भएको समय मानेका छन् भने सन् २०२३ लाई विश्व इतिहासकै सबैभन्दा गर्मी वर्ष मानिएको छ ।

यो वर्ष एल निनो प्रभावका कारणले संसारको पूर्वी भागमा व्यापक गर्मीको अनुभव गरिएको छ ।

Comments

Back to top