सफल बन्न के गर्ने ? बिल गेट्सका सुझाव

माइक्रोसफ्टका संस्थापक बिल गेट्स व्यवसायमा मात्रै सफल छैनन् । उनी परोपकारी कार्यमा पनि उत्तिकै सक्रिय छन् । विश्वका सबै बालबालिकाले खोपको पूर्ण डोज लगाउन पाऊन् भन्ने इच्छासहित उनले गरिब देशको स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याइरहेका छन् । बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनमार्फत परोपकारी कार्यमा सक्रिय गेट्स भन्छन्, ‘करुणामयी हुनुस् । तपाईंसँग करुणा भएन भने सफल हुनुको अर्थ रहँदैन ।’

सन् १९७५ मा माइक्रोसफ्ट स्थापना गर्दा उनको एउटै लक्ष्य थियो, ‘हरेकको घरमा एउटा कम्प्युटर’ होस् । आफ्ना प्रतिबद्धता र लक्ष्यप्रति अडिग भएकै कारण उनी निकै सफल तथा धनी बने । ‘तपाईं आफ्नो प्रतिबद्धतामा अडिग रहनुपर्छ । समयसँगै सफलता हात लाग्छ,’ उनी भन्छन्, ‘चुनौती र समस्या सामना गर्नुपरे पनि नआत्तिनुस् । किनकि, सफलताका लागि समय र धैर्य जरुरी हुन्छ । निरन्तर आफ्नो लक्ष्य पछ्याउनुस् ।’

मानिसले आफ्नो व्यक्तित्व विकासमा पनि उत्तिकै ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘छोटो समय शारीरिक अभ्यास गर्दा पनि मानिसलाई स्वस्थ र खुसी रहन सहयोग पुग्छ भन्ने अध्ययनले देखाएका छन्,’ गेट्स भन्छन्, ‘यस्तो बानीले तपाईं थप सक्रिय र खुसी बन्नुहुन्छ ।’

सफल हुनका लागि निरन्तरको सिकाइ आवश्यक पर्ने उनी बताउँछन् । ‘जीवनमा निरन्तरको ज्ञान र नयाँ सीप जरुरी छ । सधैँ नयाँ कुराका लागि उत्सुक रहनुस् । विस्तृत अध्ययन गर्नुस् र व्यक्तिगत तथा व्यावसायिक वृद्धिविकासका लागि अवसरहरू खोजी गर्नुस् ।’

उनी भन्छन्, ‘परिवारका लागि पर्याप्त समय छुट्याउनुस् । तपाईंका बालबच्चा वा आमाबाबुसँग समय बिताउँदा परिवारमा खुसी छाउँछ ।’

युवा व्यवसायीलाई उनी जोखिम लिन सुझाव दिन्छन् । ‘असफलता एक महत्वपूर्ण शिक्षक हो र सिकाइ प्रक्रियाको एक महत्वपूर्ण पाटो हो । त्यसैले जोखिम लिनुस् र असफलतासँग नडराउनुस् । असफलतालाई स्विकार्ने, यसले सिकाएका पाठहरू पढ्ने र उक्त ज्ञानलाई सफलता हात पार्न प्रयोग गर्नुपर्छ,’ उनी भन्छन्, ‘जीवनमा अर्को महत्वपूर्ण पाटो अनुशासन हो । आफ्नो लगाव कुन कुरामा छ भन्ने ख्याल गर्नुस् । त्यही कुरामा ध्यान केन्द्रित गर्नुस् ।’

 

Comments

Back to top