४०५ जनाको ज्यान जाने गरी काठमाडौँमा फैलिएको शताब्दीकै पहिलो महामारी

विश्व स्वास्थ्य संगठन सन् १९४८ मा स्थापना भएको हो। नेपालले त्यसको सदस्यता सन् १९५४ मा लिएको थियो। त्यसपछि नेपालमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि रहन थाले।

काठमाडौँमा सन् १९५८ अप्रिल अर्थात् २०१५ साल वैशाखदेखि हैजा संक्रमण हुन थालेपछि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि आफैँ उपस्थित भएर नेपालको हैजा संक्रमणको विश्वव्यापी रेकर्ड राखेका थिए। नेपालमा स्वास्थ्य विभागको डाइरेक्टरका रूपमा डा. दिनेशचन्द्र वैद्य थिए। स्वास्थ्य उपसचिवमा गेहेन्द्रबहादुर राजभण्डारी थिए।

नेपालमा अमेरिकी सहायता परियोजना युनाइटेड स्टेट्स अपरेसन मिसन चलिरहेको थियो। त्यसअन्तर्गत मलेरिया नियन्त्रणका लागि कार्यक्रम चलिरहेको थियो। परियोजनाअन्तर्गत नेपालमा केही अमेरिकी स्वास्थ्यकर्मी आएका थिए।

नेपालमा राष्ट्रिय योजना आयोगको गठनसँगै आयोगको स्वास्थ्य उपसमितिमा नेपालमा रहेको अमेरिकी सहायता परियोजना युनाइटेड स्टेट्स अपरेसन मिसनका प्रमुख र पब्लिक हेल्थ एड्भाइजरका रूपमा रहने विश्व स्वास्थ्य संगठनका प्रतिनिधिलाई सम्मिलित गराइएको थियो।

काठमाडौँ, पोखरा र तानसेन पाल्पामा अमेरिकी इसाई मेसिनरीका मिसन अस्पतालसमेत सञ्चालनमा आइसकेका थिए। सन् १९५८ को अगस्ट १ मा मात्र विश्व स्वास्थ्य संगठनले नेपालमा फैलिएको हैजालाई महामारीका रूपमा घोषित गर्‍यो। सोही दिन स्विट्जरल्यान्डको जेनेभाबाट विश्व स्वास्थ्य संगठनले हैजाविरुद्धको खोप नेपाल पठाएको थियो।

हैजाविरुद्ध लड्न नेपाल सरकारले विश्व स्वास्थ्य संगठनसँग खोप माग गरेको थियो। त्यसपछि  २५ हजार मात्रा हैजाविरुद्धको खोप पठाइएको थियो। (क्रोनिकल अफ दी वर्ल्ड हेल्थ अर्गनाइजेसन, १९५८ अक्टोबर)

विश्व स्वास्थ्य संगठनबाट नेपालमा आएको कुनै पनि महामारीविरुद्धको पहिलो खोप त्यही थियो। त्यतिबेला दक्षिण एसियामा मात्र नभई कम्बोडोया, थाइल्यान्डजस्ता दक्षिणपूर्वी एसियाली मुलुकमा समेत महामारीकै रूपमा हैजा संक्रमण फैलिएको थियो।

अमेरिकाले समेत नेपाललाई त्यतिबेला खोपलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको थियो। सोही २४ अगस्टमा अमेरिकाबाट स्वास्थ्य सामाग्रीसहित खोपसमेत बोकेको विमान नेपालका लागि उडेको थियो। (न्युयोर्क टाइम्स २५ अगस्ट १९५८)

काठमाडौँमा रहेको मिसन अस्पतालले समेत हैजाका बिमारीको उपचार गरेको थियो। त्यस कार्यमा डा. एएच बेहनबर्ग खटिएका थिए। त्यस्तै नेपालमा मलेरिया नियन्त्रणका लागि खटिएको अमेरिकी मिसनले समेत हैजाबाट बच्नका लागि जनचेतना फैलाउनेदेखि बिमारीको उपचारमा खटिएको थियो।

उपत्यकाका तीन सहरबाहेक पूर्वी नेपालका विराटनगर, धरान र धनकुटामा समेत हैजा फैलिएको थियो। त्यस्तै पश्चिम नेपालको पोखरासहित नेपालका दूरदराजका कतिपय गाउँठाउँमा हैजा फलिएको थियो। तथ्यांक अभावमा त्यहाँको विस्तृत जानकारी भने थाहा हुन सकेको छैन।

सन् १९५८ मा अगस्ट र अक्टोबरमा गरी दुईपटकसम्म हैजाको संक्रमण निकै उच्च दरमा फैलिएको थियो। विश्व स्वास्थ्य संगठनका तर्फबाट सन् १९६० मा नेपालको हैजा महामारीसम्बन्धी अध्ययन गर्न आएका इजिप्टका डाक्टर एएच अबुगरिवको तथ्यांकअनुसार तीन वर्ष अवधिमा नेपालमा हैजाबाट करिब ४०५ जनाले ज्यान गुमाएका थिए।

सन् १९५८ को अप्रिलदेखि डिसेम्बरसम्म सबैभन्दा बढी ३४२ जनाले ज्यान गुमाएका थिए। तीमध्ये जुनमा ६८ र संक्रमण र उच्च रहेको अगस्ट र अक्टोबरमा क्रमशः १३६ र ७६ जनाले ज्यान गुमाएका थिए। सन् १९५९ मा ४१ र सन् १९६० मा २२ जनाले ज्यान गुमाएका थिए। (बुलेटिन अफ् दी वर्ल्ड हेल्थ अर्गनाइजेसन, १९६१) - एजेन्सी

Comments

Back to top