हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आजदेखि सुरु!

बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट ‘१० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ मेला सुरु हुने भएको छ । हेटौंडा–१० स्थित टिसिएन चौरमा आज दिउँसो १ बजेबाट सुरु हुने महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने कार्यक्रम तय भएको आयोजक मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले जानकारी दिए ।

३३७ वटा स्टल रहने महोत्सवमा कृषि, घरेलु हस्तकला, महिला उद्यमीका उत्पादन, होटल, आइटी, शैक्षिक संघसंस्था, उद्योगका उत्पादनहरु लगायतको स्टलहरु रहने छन् ।

यसैगरी मेलामा स्थानीय स्तरमा उत्पादन भएको चुच्चेखोलाको खुवा, राक्सिराङको गिठ्ठा, भ्याकुर, डोको, डालो, नाङ्लो, खुर्पेटो तथा रैथाने बालीहरु कोदो, फापर, गेडागुडी लगायत प्रर्दशन तथा बिक्री स्टल रहने आयोजकले जनाएको छ । माघ २३ गतेसम्म जारी रहने १३ दिने मेलामा २ लाख जनाले अवलोकन गर्ने र २० देखि २५ करोड कारोबार हुने आयोजकको अनुमान रहेको छ ।

महोत्सवमा स्थनाीय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने जानकारी दिइएको छ । महोत्सवमा गायन तथा नृत्य प्रतिभा प्रोत्साहन तथा प्रवद्र्धनका लागि हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार र दुलही श्रृंगार प्रतियोगिता समेत रहेको छ । तीनै वटा प्रतियोगितामा प्रथम हुने ३०-३० हजार, द्वितीयले २०-२० हजार र तृतीयले १०-१० हजार र सान्त्वना हुनेले ५–५ हजार प्राप्त गर्ने बताइएको छ ।

मेला प्रवेशको टिकटदर प्रतिव्यक्ति ५० रुपैयाँ राखिएको र विद्यार्थीलाई ५० प्रतिशत छुट रहेको आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

Comments

Back to top