८ खानेकुरा जसले गर्छ तनावलाई कम!

तनाव भनेको मानसिक दबाव हो । हाम्रो काम, करियर, भविष्य सबैले यस किसिमको दबाव पैदा गर्छ । तनाव बच्चा, किशोर, युवा, वयस्क, बृद्धा सबैलाई हुन्छ।

तनावले त्यसबेला मात्र हामीलाई पिरोल्छ, जब यसको सहि व्यवस्थापन गर्न सकिदैन । तनाव व्यवस्थापन गर्ने कुरा हो । यो निर्मुल हुने कुरा होइन । अर्थात हाम्रो जीवनमा तनाव नै आउन नदिने भन्ने हुँदैन । तनाव आउँछ, तर त्यसलाई सहि ढंगले व्यवस्थापन गर्नुपर्छ।

हामीले यहाँ यस्ता केही खानेकुराका बारेमा प्रस्तुत गरेका छौं, जसले तनाव कम गर्नमा सहयोग पुर्याउँछन् ।

चिसो पानी
तनाव उत्पन्न भएको बेला चिसो पानी पिउनु पनि लाभदायक हुन्छ। चिसो पानी पिएर खुला ठाउँमा डुल्न गयो भने रगतमा इन्डोर्फिन नामक तत्‍व उत्सर्जन हुन्छ, जसले दिमागलाई तनावमुक्त गराउँछ। 

केरा
केरामा पोटासियम र कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छन्। केरा खानाले शरीरमा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ, जसले तनाव कम गरी मानिसलाई शान्त राख्न मद्दत गर्छ।

जौ
जौमा घुलनशील फाइबरको मात्रा उच्च हुन्छ, जसले तनावका कारण कोलेस्टरोलको मात्रामा हुनसक्ने वृद्धि र मुटुसम्बन्धी रोगलाई रोक्न मद्दत गर्छ। तनावपूर्ण दिनमा जौको पिठोबाट बनेका खानेकुरा खानु राम्रो हुन्छ। 

कुरिलो
तनाव उत्पन्न भएको बेला शरीरलाई शान्त र पूर्ववत् अवस्थामा ल्याउन भिटामिन बीको आवश्यकता पर्छ। त्यही भएर तनाव उत्पन्न भएको बेला कुरिलोको तरकारी, झोल अथवा अचार खानु लाभदायक हुन्छ।

ब्रोकाउली
ब्रोकाउलीमा फोलिक एसिड पाइन्छ, जसले तनाव कम गर्छ मद्दत गर्छ। तनावपूर्ण अवस्थामा खानासँग ब्रोकाउली खानु उपयुक्त हुन्छ। 

दूध
दूधमा ट्राइप्टोफान नामक तत्व हुन्छ, जुन खाएपछि दिमागलाई फ्रेस र कुल बनाउने सेरोटोनिन नामक तत्वमा परिवर्तन हुन्छ। साथै, दूधमा पाइने क्याल्सियम, म्याग्नेसियम र पोटासियमले तनावको घडीमा रक्तचाप बढ्नबाट पनि जोगाउँछ।

स्याउ
स्याउमा फोस्फोरस र आइरन प्रशस्त मात्रामा पाइन्छन्, जसले तनाव कम गर्न मद्दत गर्छन्। तनाव उत्पन्न भएको बेला खुम्चिएका कोषिकालाई यसले पहिलाकै अवस्थामा ल्याउन मद्दत गर्छ, जसले गर्दा तनावको असर कम हुँदै जान्छ। खासगरी तनावपूर्ण अवस्थाबाट गुज्रिएको बेला प्रतिदिन एउटा स्याउ खानु उपयुक्त हुन्छ। 

अमला
तनावका असर कम गर्न उपयोगी अर्को फल हो, अमला। अमलामा भिटामिन सी पाइन्छ, जसले तनाव उत्पन्न भएका कारण रगतमा आएको रासायनिक परिर्वतनलाई पूर्ववत् अवस्थामा पुर्‍याउन मद्दत गर्छ। त्यही भएर तनावपूर्ण दिनहरूमा प्रतिदिन दुइवटा अमला खानु राम्रो हुन्छ।

अक्सर मानिसहरु तनावका लागि परिस्थितिलाई दोष दिन्छन् । तर सत्य के हो भने परिस्थितिलाई नियन्त्रणमा लिन सम्भव छैन । त्यसैले हरेक परिस्थितिमा मनलाई स्थिर र प्रसन्न राख्ने कोशिश गर्नुपर्छ । तनावको सामना गर्न महिलाहरु पुरुषभन्दा अगाडि हुन्छन् ।

Comments

Back to top