नेपालमा बिटकोइनले मान्यता पाउला ? नेपालसहित ३२ देशका केन्द्रीय बैंक छलफलमा
नेपाल राष्ट्र बैंकसहित ३२ देशका केन्द्रीय बैंक र १२ वटा वित्तीय गरि ४४ देशहरु आजदेखि बिटक्वाइनबारे छलफलमा जुटेका छन् । विश्वभरका ३२ मुलुकका केन्द्रीय बैंक र १२ वित्तीय अधिकारीबीच सेल्ट्रल अमेरिकी राष्ट्र एल साल्भाडोरमा वित्तीय समावेशीकरण, डिजिटल इकोनोमीका साथै बिटकोइनका विषयमा छलफलमा जुटेका हुन् ।
एल साल्भाडोरका ४३ औँ राष्ट्रपति नयिब बुकेलेका अनुसार मंगलबार उक्त छलफलमा नेपालसहित अन्य ३२ वटा मुलुकका केन्द्रीय बैंक र १२ वटा वित्तीय संस्थाका अधिकारीहरुको उपस्थिति भएका छन् । बुकेलेले ट्विटरमा भनेका छन्, “छलफलमा बिटक्वाइन, डिजिटल इकोनोमीलगायतले मुलुकलाई हुने फाइदाबारे छलफल गरिने छ ।”
एल साल्भाडोर बिटक्वाइनलाई मुद्राका रुपमा कानुनी मान्यता दिने विश्वकै पहिलो देश पनि हो । कार्यक्रममा वित्तीय समावेशीकरण, डिजिटल अर्थतन्त्र, बैंकिङ व्यवस्था लगायत एल साल्भाडोरमा बिटक्वाइनको प्रयोग र देशले यसबाट लिएका फाइदाको विषयमा छलफल हुनेछ ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले नेपालले पनि आफ्नै डिजिटल मुद्रा ल्याउने विषयमा अध्ययन गरिरहेको अवस्थामा एल साल्भाडोरमा नेपालको तर्फबाट सहभागिताको लागि टोली पठाइएको बताए । गत वर्ष एल साल्भाडोरले बिट्क्वाइनलाई आफ्नो देशको वैधानिक मुद्राको रुपमा स्वीकार गरेको थियो । योसँगै आफ्ना नागरिकलाई बिटक्वाइन प्रयोगमा प्रोत्साहन गर्न सरकारले विभिन्न गतिविधि पनि गर्दै आएको छ ।
के नेपालमा बिटकोइनले मान्यता पाउला ?
नेपालमा भने बिटकोइन लगायत सबै प्रकारका क्रिप्टोकरेन्सी प्रतिबन्धित छन् । यद्यपि राष्ट्र बैंकले देशको छुट्टै डिजिटल मुद्रा जारी गर्ने विषयमा अध्ययन गरिरहेको छ ।
चीनले अवैधानिक घोषणा गरिसक्दा पनि बिटकोइनमा लगानी गर्नेहरु बढीरहेका छन् । चीन, भारत र नेपालमा समेत यसको प्रयोगकर्ताहरु थपिएका छन् ।
पछिल्लो समय बिटकोइनको मूल्य घट्न थालेको छ । कोइनबेस क्रिप्टोकरेन्सी एक्सचेन्जका अनुसार सप्ताहन्तमा गिरावट जारी रहँदै यसको मूल्य ३४ हजार डलरभन्दा तल झरेको छ । बजार मूल्यको आधारमा विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीको मूल्य गत वर्ष नोभेम्बरमा आफ्नो उच्च स्तरबाट ५० प्रतिशतले घटेको क्रिप्टोकरेन्सी एक्सचेन्जले जनाएको छ ।
हालैका दिनहरूमा विश्वभरका स्टक बजारहरु पनि ओरालो लाग्दा डिजिटल सम्पत्तिको मूल्यमा गिरावट आएको हो । ६३६ बिलियन डलर कूल मूल्यको साथ बिटकोइनले क्रिप्टोकरेन्सी बजारको करिब एक तिहाइ हिस्सा ओगटेको छ । विश्वको दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथरियमको मूल्य पनि गत हप्ता १० प्रतिशतभन्दा बढीले घटेको छ ।
अमेरिकामा भने कानूनी मान्यता
अमेरिकाले विश्वकै महँगो भर्चुअल मुद्रा बिटक्वाइनको कारोबारलाई कानुनी मान्यता दिएको छ । यसै महिनाको अन्त्यतिरबाट अमेरिकाका दुई एक्सचेञ्जहरु सीएमई ग्रुप र सीबीओई ग्लोबल मार्केट एक्सचेञ्जले बिटकोइनको कारोबार सुरु गर्ने भएका छन् । यससँगै अब लगानीकर्ताले बिटकोइनमा हुने फ्युचर कन्ट्रयाक्टको खरिदबिक्री गर्न पाउनेछन् ।
Comments