बिटकोइनको मूल्य घट्दै, हालको मूल्य $ ३४००० आसपास !

बिटकोइन ’भर्चुअल’ मुद्रा हो । यसलाई ’क्यास’को अनलाइन ’भर्सन’का रुपमा मानिन्छ । बिटकोइन केही सामान किनबेचका लागि प्रयोग हुँदै आएको छ तर केही पसलमा मात्रै यसको प्रयोग गरिन्छ । हामीले फोटोमा देख्ने बिटकोइन बिम्ब मात्रै हो । यी सिक्काभित्र ’प्राइभेट कोड’ हुन्छ र ती कोडबिना कुनै बिटकोइन प्रयोगमा आउँदैन ।

हरेक बिटकोइन एक कम्प्युटर फाइल हो, जुन एउटा स्मार्टफोन वा कम्प्युटरमा राखिएको ’डिजिटल वालेट’मा जम्मा गरिएको हुन्छ । जो कसैले पनि आफ्नो डिजिटल वालेटबाट बिटकोइन अरुलाई पठाउन र अरुबाट पाउन सक्छन् ।

बिटकोइनको हरेक कारोबार ’ब्लकचेन’ भनिने पब्लिक लिस्टमा देखिन्छ । त्यसैले बिटकोइनको प्रयोगबारे जानकारी प्राप्त गर्न सकिन्छ तर आफूसँग नरहेको बिटकोइन खर्च गर्न कसैले पनि सक्तैन ।

बिटकोइन पाउनका लागि कुनै पनि प्रयोगकर्तासँग ’बिटकोइन एड्रेस’ हुनुपर्छ । २७ देखि ३४ अक्षर र नम्बर भएको उक्त एड्रेसले भर्चुअल पोस्ट बक्सका रुपमा काम गर्छ, जहाँबाट बिटकोइन पठाउन र पाउन मिल्छ ।

पछिल्लो समय बिटकोइनको मूल्य घट्ना थालेको छ । कोइनबेस क्रिप्टोकरेन्सी एक्सचेन्जका अनुसार सप्ताहन्तमा गिरावट जारी रहँदै यसको मूल्य ३४ हजार डलरभन्दा तल झरेको छ । बजार मूल्यको आधारमा विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीको मूल्य गत वर्ष नोभेम्बरमा आफ्नो उच्च स्तरबाट ५० प्रतिशतले घटेको क्रिप्टोकरेन्सी एक्सचेन्जले जनाएको छ ।

हालैका दिनहरूमा विश्वभरका स्टक बजारहरु पनि ओरालो लाग्दा डिजिटल सम्पत्तिको मूल्यमा गिरावट आएको हो । ६३६ बिलियन डलर कूल मूल्यको साथ बिटक्वाइनले क्रिप्टोकरेन्सी बजारको करिब एक तिहाइ हिस्सा ओगटेको छ । विश्वको दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथरियमको मूल्य पनि गत हप्ता १० प्रतिशतभन्दा बढीले घटेको छ ।

Comments

Back to top