पुँजी बढाउन धमाधम मर्जरको बाटो रोज्दै इन्स्योरेन्स कम्पनी
बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएसँगै इन्स्योरेन्स कम्पनीहरुले मर्जरको बाटो अवलम्बन गर्न थालेका छन् ।
बिहीबारमात्रै हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति भएको छ । दुई कम्पनीबीच समझदारी पत्र (एमओयु)मा हस्ताक्षर भएको हो ।
हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ छ । यस्तै एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । १ः१ को अनुपातमा गभिएपछि चुक्ता पुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।
बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको थियो । चुक्ता पुँजी बढाउनु पर्ने बाध्यता भएपछि ती दुई इन्स्योरेन्स कम्पनी मर्जरमा जाने सहमतिमा पुगेका हुन् ।
यस्तै, यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभाले मर्ज हुने (गाभ्ने/गाभिने), प्राप्ती गर्ने एक्विजिशन गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिएको छ । सभाले बीमा समितिले तोकेको समय भित्र ५ अर्ब चुक्ता पूँजी पुर्याउन अन्य जीवन बीमा कम्पनीबच एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने, प्राप्ती गर्ने एक्विजिशन) गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिएको छ ।
बीमा समितिले २०७९ चैत्र मसान्त भित्र जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको थियो । कम्पनी मर्जरको लागि बिस्तृत लेखा परीक्षण (डिडिए) गर्नका लागि मुल्यांककर्ता नियुक्त गर्ने प्रयोजनको लागि पनि सभाले संचालक समितिलाई अख्तियारी दिएको हो।
यसैगरी, आईएमई ग्रुपअन्तर्गतको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभाबाट मर्जरमा जान अख्तियारी पाएको छ ।
कम्पनीमा सर्वसाधारणलाई छुट्याइएको सेयर जारी गर्ने प्रस्ताव पारित गरी आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न–गाभिन वा प्राप्ति गर्नेसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गरिएको छ।
Comments