चुनावले नेप्से बढाउँछ भन्ने हल्ला मात्र, तथ्यले अर्कै देखाउँछ !

—रबिन सुबेदी

जन आन्दोलन २०६२/६३ पश्चात् नेपालको राजसंस्था हटेर गणतन्त्र आयो र विभिन्न तहका चुनावहरु पनि हुँदै गए। संविधान सभाको पहिलो चुनाव सन् २००८ मा भएको थियो। पुनः संविधान सभाको दोस्रो चुनाव सन् २०१३ मा भएको थियो। यस्तै नेपालको संविधान सन् २०१५ मा जारि भए पछि पाँच वर्षको लागि ३ तहको, स्थानिय, प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव २०१७ मा भयो। हाल पुनः स्थानिय तहको चुनाव २०२२ को चर्चा चलिरहँदा नेप्से भने ओरालो लागिरहेको देखिन्छ।

चुनावी माहौलका बेला सेयर बजार बढ्छ भन्ने कुरा सामाजिक संजालमा चलिरहने गर्दछ। तर यथार्थ के हो भनेर विगतका चुनाव र नेप्सेको प्रतिक्रियालाई हेर्दा यस्ता तथ्य फेला परेको देखिन्छ जुन तल चर्चा गरिएको छ ।

माथिको विश्लेषणलाई हेर्दा नेप्से बुल मार्केट र बियर मार्केट गरी दुई तरिकाले चलेको देखिन्छ। सन् २००२ देखि चलेको बुल चक्र २००८ सम्म रहयो र २०१२ सम्म बियर मार्केट चल्यो। यस्तै २०१२ को अप्रिलबाट २०१६ को जुलाईसम्म फेरी बुल मार्केट चल्यो र २०१९ सम्म बियर रह्यो। यस्तै, २०१९ को डिसेम्बरबाट सुरु भएको बुल मार्केट अहिले सम्म चलिरहेको र २०२३ सम्म रहन सक्ने अघिल्लो बुल चक्रको अवधिका आधारमा भन्न सकिन्छ। यसरी, नेप्सेको यात्रामा विभिन्न प्रकारका चुनाव पर्न गए जुन तल व्याख्या गरिएको छ।

पहिलो चुनाव: २००८ अप्रिल १०
पहिलो संविधान सभाको चुनाव बुल मार्केट चलेको बेला २००८ मा भएको देखियो भने चुनाव आगाडी ३ महिना लगातार गिरावट आएको र चुनाव पश्चात् लगातार ४ महिना उकालो लागेको देखियो।

दोस्रो चुनाव: २०१३ नोभेम्बर १९
दोस्रो संविधान सभाको चुनाव २०१३ नोभेम्बरको बेला पनि नेप्से बुल मार्केटको बेला परेको देखियो भने चुनाव आगाडी ४ महिना साइड वेज गएको र चुनाव पश्चात् लगातार ८ महिना सम्म निकै उकालो लागेको देखियो।

तेस्रो चुनाव: २०१७ नोभेम्बर २६
२०१७ सालमा स्थानिय, प्रदेश र प्रतिनिधि सभा तिन तहको चुनाव भने बियेर मार्केटको बेला भएको देखियो जहाँ चुनावको अगाडी पनि नेप्से घटिरहेको तथा चुनाव पश्चात् पनि नेप्सेमा भारी गिरावट आएको देखिन्छ।

हालको चुनाब: २०२२ अप्रिल १३
अहिले नेप्से लकडाउन पछि उक्लिएर बजार बुल मार्केटमा चलिरहदा चुनावको माहौल आएको देखिन्छ र चुनाव अप्रिल १३ मा हुने निश्चित हुँदा नेप्से लगातार ९ महिना देखि ओरालो लागिरहेको देखिन्छ र चुनावपश्चात् के हुने भन्ने आगामी दिनमा नै थाहा हुनेछ।

यसरी, समग्र नेप्से र चुनावी माहौललाई हेर्दा चुनावकै कारण नेप्से उकालो लाग्छ भन्ने तथ्य देखिएन किनभने बियर मार्केट चलेको समयमा चुनावले नेप्सेलाई कुनै प्रभाव नपारेको र नेप्से आफ्नै गतिमा तलतिर लागेको भन्ने सन् २०१७ को चुनावले प्रष्ट देखाएको छ। साथै, २०१३ मा नेप्से बढ्ने क्रममा नै चुनाव परेको र नेप्से आफ्नै गतिमा उकालो लागेको भन्ने बुझ्न सकिन्छ।

यसरी, अब २०२२ को चुनावले नेप्सेलाई उकालो यात्रा लैजान्छ भन्ने कुरा पनि हाल घटिरहेको बजारले पुष्टि गर्न सकेन । नेप्से अब निरन्तर ओरालो लाग्छ वा यो करेक्सन भैरहेको हो भन्ने दुविधा हुन सक्ला ! तर यो गिरावट करेक्सन नै हो भन्ने एउटा आधार के छ भने नेप्से लामो समय देखि माथिल्लो तहमा रहेको छ र केहि दिन लामो उकालो यात्रा तथा केहि दिन लामो गिरावट गरी माथिल्लो क्षेत्रमा नै समय बिताएको हुँदा करेक्सन हो भन्ने छर्लंग हुन्छ।

Comments

Back to top