बीमा कम्पनीहरुलाई बेलैमा चुक्ता पुँजी बढाउन समितिको ताकेता

बीमा समितिले बेलैमा चुक्ता पुँजी बढाउन बीमा कम्पनीहरुलाई ताकेता दिएको छ । हालै पुँजी वृद्धिको योजना पनि मागेको समितिले नसक्नेले विकल्प दिनुपर्ने जनाएको छ ।

विकल्पमा कम्पनीहरु मर्जरमा पनि जान सक्ने बाटो खुला गरिएको छ । जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउनैपर्ने व्यवस्था समितिले गरेको छ । पुँजी वृद्धि अनिवार्य गरिएपछि कम्पनीहरु कसरी पुर्याउने भन्नेमा लागेका छन् । केहीले सजिलै उक्त अंक पार गर्ने अवस्था छ भने केही कम्पनीलाई निकै गाह्रो पर्ने अनुमान बीमा बजारमा भइरहेको छ ।

मुलुकको अर्थतन्त्र र बीमकको हितमा पुँजी वृद्धिको निर्णय भएकाले एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पुँजी बढाउनै समिति अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए। समितिद्वारा काठमाडौंमा आयोजित पुँजी वृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले बीमा बजारको अध्ययन एवं विश्लेषण गरेर नै पुँजी वृद्धिको निर्णय लिइएको दाबी गरे।

उनले भने, “बीमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना हो । बीमा कम्पनीले एक वर्षभित्र चुक्ता पुँजी बढाउनै पर्छ। त्यसमा सहजीकरण गर्न बीमा समिति तयार छ ।” आफैं पुँजी जुटाउन नसकिने भए मर्जरमा जान चाहनेलाई समितिले बाटो खोलिदिएको पनि उनले बताए।

उनले भने, “समितिले जारी गरेको जोखिममा आधारित पुँजीसम्बन्धी निर्देशिका २०८१ देखि पूर्णरुपमा लागू हुन्छ र त्यसका लागि पनि थप पुँजी आवश्यक पर्न सक्छु ।”

देशका ग्रामीण भेगका जनतासम्म बीमाको पहुँच पुग्नु पर्ने उनको भनाइ छ । स्थानीय तहमा बीमाका लागि पर्याप्त स्रोत र सम्भावना रहेकाले कम्पनीहरुले पहुँच बिस्तार गर्नुपर्ने समितिले जनाएको छ ।

Comments

Back to top