गर्मीमा तातो हावाबाट हुने लुबाट बच्ने उपाय

गर्मीमा विशेष गरी तराई क्षेत्रमा तातो हावा लाग्ने गर्छ जसका कारण ‘लु’ लाग्ने गर्छ । लु लाग्दा व्यक्तिलाई सास फेर्न गाह्रो हुने, पसिना ननिस्कने, टाउको अत्याधिक दुख्ने, छाला सुख्खा तथा तातो हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने, चक्कर लाग्ने तथा बेहोस हुने आदि लक्षण देखिन्छन् ।

वैशाख महिना लागेसँगै गर्मी निकै नै बढेको छ। तराईका क्षेत्रमा मौसम पूर्वानुमान शाखाले तातो हावा ‘लु’ चल्न सक्ने जनाएकाे छ ।त्यसकारण, यो समयमा हामीले विशेष ख्याल राख्नुपर्छ ।

लुबाट जोगिन तल दिईएका सावधानीका उपाय अपनाउन सकिन्छ:

-दिँउसो सकेसम्म घरबाट बाहिर ननिस्कने
-फलफूलको रस र पानी प्रसस्त पिउने
-धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने
-बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओड्ने
-चिसो पानीले नुहाउने
-खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने
-मदिरा सेवन नगर्ने
-क्याफिनले धेरै पिसाब गराउँने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने
-चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने

यदि माथि उल्लेखित ‘लु’का लक्षणहरु देखिएमा आफनो नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गरी उपचार गर्नुपर्छ । ‘लु’ एक खतरनाक अवस्था भएकोले यसका लक्षणहरुलाई बेवास्ता गर्नु हुँदैन । माथि उल्लेखित सावधानी अपनाए या समयमै उपचार गरे लुबाट बच्न सकिन्छ ।

Comments

Back to top