मर्जर भाँडेको भन्दै हिमालयन र इन्भेस्टमेन्ट बैंकलाई कारबाही, सेयरधनीको कारोबार र लाभांश रोक्का
नेपाल राष्ट्र बैंकले हिमालयन र इन्भेस्टमेन्ट बैंकलाई कारबाही गरेको छ । मर्जर तोडेको भन्दै कारबाही स्वरुप दुवै बैंकका आधारभूत सेयरधनीको कारोबार र लाभांश रोक्का गरेको हो । गत वर्षको बैशाख ३० गते मर्जरमा जाने सहमति गरेका ती दुई बैंक करिव एक वर्षमा पनि मर्जरमा नगएपछि राष्ट्र बैंकले कारबाही स्वरुप दुवै बैंकका आधारभूत सेयरधनीको कारोबार र लाभांश रोक्का गरेको हो ।
राष्ट्र बैंकले दुवै बैंकलाई यथाशीघ्र अरु कुनै वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जान पनि भनेको छ ।
इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि हिमालयन बैंकले अर्को वाणिज्य बैंकसँग मर्जरको प्रक्रिया अगाडि बढाएको छ । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाका अनुसार राष्ट्र बैंकको निर्देशनअनुसार अर्को वाणिज्य बैंकसँग मर्जरको प्रक्रिया अगाडि बढाइने छ ।
उनका अनुसार राष्ट्र बैंकको निर्देशनअनुसार अर्को बैंकसँग मर्ज गर्नुपर्ने बाध्यता छ । आर्थिक वर्षभित्र मर्जरको सम्झौता गर्ने उनले बताए । त्यसका लागि २/३ वटा बैंकसँग गहन छलफल भइरहेको उनको भनाइ छ ।
Comments