पूँजी जुटाउन नसक्ने बीमा कम्पनीलाई मर्जरमा जान अध्यक्ष सिलवालको निर्देशन
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरिएको बताएका छन् ।
बीमा समितिको कार्यालयमा बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्षहरूसँग समयसामयिक विषयमा आज भएको छलफल कार्यक्रममा अध्यक्ष सिलवालले धेरै लामो गृहकार्य गरेर बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरिएको स्पष्ट पारेका छन् ।
“बीमा कम्पनीहरूको पूँजी कम छ, कम्पनीहरूको मुनाफा घट्दैछ, प्रशासनिक लागत बढ्दैछ, बीमाको दायरा बढ्दै गएको छ, कम्पनीहरूको दक्षता बढ्न सकेको छैन” अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीलाई बलियो बनाउने कार्यको यो शुरूवात हो, पूँजी वृद्धिको योजना धेरै अगाडि देखिको हो, पूँजी पुर्याउन नसके मर्जरमा जानुपर्छ, कम्पनीको महत्वपूर्ण आधार भनैकै पूँजी हो, यो सबैको हितमा आएको छ र यसमा केही अप्ठ्यारो परे त्यो फुकाउन समिति तयार छ ।”
अध्यक्ष सिलवालले समितिले नयाँ जीवन तथा निर्जीवन कम्पनीहरू दर्ता नगर्ने जानकारी दिनुहुँदै तोकिएको अवधिभित्र चुक्ता पूँजी वृद्धिको योजना ल्याउन र तोकिएको पूँजी पुर्याउन नसके मर्जरमा जान बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् ।
Comments