नेप्से अवास्तविक सूचक देखाउँदै, बजार पुँजीकरणका लागि नेप्सेले लिएको तथ्यांक नै गलत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नबिल बैंकको कुल बजार पुँजीकरण एक खर्ब ९६ अर्ब ६ करोड रुपैयाँ देखाउँछ। नेप्सेले सोमबार कारोबार भएको नबिल बैंकको कुल सेयर (संस्थापक र साधारण) को मूल्य प्रति कित्ता १०६० रुपैयाँका दरले हिसाब गरेर यो बजार पुँजीकरण तयार पारेको हो।

तर, नेप्सेले आफ्नो ‘प्लाटफर्म’ मा भने नबिल बैंकको सेयरलाई फरक फरक मूल्यमा कारोबार गराइरहेको हुन्छ। संस्थापक सेयरको भाउ प्रति कित्ता ६८१ रुपैयाँ छ भने सर्वसाधारणको १०६० रुपैयाँ छ।

नबिल बैंकको कुल सूचीकृत सेयर संख्या १८ करोड ४९ लाख ६१ हजार ८६९ कित्ता हो। यसको ४० प्रतिशत अर्थात ७ करोड ३९ लाख ८४ हजार ७४७ कित्ता सेयर मात्र सर्वसाधारणको हो। यसको मूल्य १०६० रुपैयाँ हो।

संस्थापकको ११ करोड ९ लाख ७७ हजार १२१ कित्ता सेयर छ। यसको मूल्य प्रति कित्ता ६८१ रुपैयाँ छ।

यस हिसाबले संस्थापकतिरको कुल मूल्य (पुँजीकरण) ७५ अर्ब ५८ करोड रुपैयाँ र सर्वसाधारणतर्फको ७८ अर्ब ४२ करोड रुपैयाँ पुँजीकरण हुनुपर्ने थियो। दुवैको फरक फरक मूल्यमा आधारित कुल पुँजीकरण एक खर्ब ५४ अर्ब रुपैयाँ मात्र हुन्छ। तर, नेप्सेले संस्थापक सेयरलाई पनि साधारण सरह हिसाब गरेर बजार पुँजीकरण ४२ अर्ब ६ करोड रुपैयाँले बढाएर एक खर्ब ९६ अर्ब ६ करोड रुपैयाँ पुर्‍याएको छ।

नेप्सेले नबिलको मात्र होइन, राष्ट्र बैंकबाट सञ्चालन स्वीकृति पाएका २६ वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ५० वटाभन्दा बढी लघुवित्त र एउटा इन्फ्रास्ट्रक्चर बैंकको पनि बजार पुँजीकरण यसैगरी गरेको छ। यसबाहेक बीमा कम्पनीको बजार पुँजीकरण पनि सर्वसाधारणको सेयर मूल्यका आधारमा निर्धारण गरेको छ। नेप्सेमा सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ६३.२७ प्रतिशत छ।

कुल बजारको ६३ प्रतिशतभन्दा बढी सेयरको बजार पुँजीकरण गलत ढंगले गर्दा बजार मापक सूचकले सही तथ्यांक नदेखाएको विश्लेषकहरुको भनाइ छ।

बजार विश्लेषक निरव पुडासैनीलाई लाग्छ- संस्थापक र साधारणको सेयरलाई एउटै मूल्यमा गणना गरेर बजार पुँजीकरण निकाल्दा त्यसबाट वास्तविक सूचक निर्धारण भएको छैन।

संस्थापक र साधारणलाई उनीहरुको वास्तविक मूल्यमा राखेर बजार पुँजीकरण गर्ने हो भने आजको दिनमा नेप्से सूचक २१ सय हाराहारी मात्र हो। जबकी सोमबार सूचक २६ सय ३४ अंक तय भएको छ।

यसले गर्दा बजार पुँजीकरणको वास्तविक तथ्यांक लगानीकर्ताले पाउन सकेका छैनन्। बजार पुँजीकरण नै गलत हिसाबले गणना भएका कारण यसैका आधारमा मापन हुने नेप्से सूचक पनि वास्तविकताभन्दा निकै टाढा छ।

स्रोत: bizmandu

Comments

Back to top