निद्रा नलाग्नुको कारण र समाधानका उपाय
राति मिठो निद्रा लाग्यो भने बिहान उठेपछि मुड फ्रेस हुन्छ। एक किसिमको आनन्दको अनुभूति हुन्छ। आहा ! क्या मिठो निद्रा भन्दै दिनभरि आफ्नो काममा जुट्ने जाँगर पनि चल्छ। हुन पनि दिनभरिको कामको थकाइलाई मेट्न, शरीरलाई आराम दिन र शरीरलाई तन्दुरुस्त राख्न निद्रा धेरै नै महत्वपूर्ण छ।
निद्रा भनेको हाम्रो जीवनको आधारभूत आवश्यकता हो । हाम्रो शरीरको धारभुत आवश्यकतामा खाना, पानी, निद्रा आदि पर्छन् । २४ घण्टामा कमसेकम ८ घण्टासुत्न सक्यो भने शरीरलाई फाइदा हुन्छ जसका कारण मस्तिष्कलगायत् शरीरका महत्वपूर्ण अंगलाई आराम दिन्छ । निद्रामा ९० मिनेटको साइकल हुन्छ । पहिलो २० मिनेटलाई सुरूवाती निद्रा भनिन्छ । जुन निद्रामा हामीहरू तुरुन्तै उठ्न सक्छौं । यसलाई ‘स्टेप स्लिप’ भनिन्छ । त्यसपछि करिव ५० मिनेट गहिरो निद्रा हुन्छ । गहिरो निद्रामा पुगेपछि मानिसलाई उठाउन गाह्रो हुन्छ र साइकलको अन्तिम १०–१५ मिनेटमा सपनाहरू आउने हुन्छ । यसरी ढेड घण्टाको एउटा साइकल हुन्छ ।
निद्रामा करीब ५–६ वटा साइकल पुरा गर्नुपर्छ । यसरी निद्रा साइकल पुरा भयो भने हामी बिहान उठिसकेपछि स्फूर्तिको महसुस गर्दछौँ । निद्रा नलाग्ने कारणहरू धेरै छन् । शारीरिक, मनोवैज्ञानिक, सामाजिक, कारणले गर्दा मानिसमा निद्रा नलाग्ने हुन्छ । शारीरिक कारणमा धेरै किसिमका शारीरिक रोग, टाउको दुख्ने, भोक नलाग्ने, विभिन्न किसिमका शारीरिक पीडाहरू हुन्छन् । सामाजिक कारणमा तनावहरू जस्तै आर्थिक, पारिवारिक, व्यक्तिगत तनावले गर्दा पनि निद्रा लाग्दैन र अर्को मनोवैज्ञानिक कारणहरूमा डिप्रेशन, एन्जाइटी लगाएतका रोगहरू पर्दछन् ।
अर्को निद्रा नलाग्ने आफैमा पनि एउटा रोग हुन्छ जसलाई इन्सेम्निया भनिन्छ । निद्रा बढी लाग्ने पनि समस्या हो रु कोही कोही मानिसमा दिउँसै निद्रा लाग्ने रोग हुन्छ । यस्ता मानिसहरू महत्वपूर्ण कार्यक्रममा पनि निदाउँछन् । त्यसैले चाहिने भन्दा धेरै निद्रा लाग्नुलाई ‘नार्कोलेप्सी’ भनिन्छ । हामीहरू दैनिक ८–९ घण्टा सुत्ने गर्छौं तर नार्कोलेप्सी भएकाहरू त्यो भन्दा धेरै बढी सुत्ने हुन्छन् । साथै कोहीकोहीलाई दिउँसो निद्रा लाग्ने भनेको धेरै खाना खाएपछि हो । यस्तो अवस्थामा मानिसलाई एक्कैछिन मात्र निद्रा लाग्छ र उनीहरु फ्रेस हुन्छ ।
राति निद्रा खुलेर पुनः सजिलै लाग्छ भने यो रोग भने होइन । निद्रामा बरबराउने किन हुन्छ ? बरबराउनु पनि निद्राकै समस्या हो ।निद्राको साइकल हुन्छ । त्यो साइकल पार गर्दै जाँदा सपनाहरू आउने हुन्छ । सबै मानिसलाई प्रत्येक दिन सपना आउँछ तर जसलाई निद्राको समस्या हुन्छ, त्यस्ता मानिसले धेरै सपना देख्ने हुन्छ । किनभने धेरै जसो सपनाहरू गहिरो निद्रामा देखिन्छ । गहिरो निद्रामा आएको सपना सम्झिन सकिँदैन । तर कम गहिरो निद्रामा आउने सपना मात्र सम्झने हुन्छ । त्यसैले कहिलेकाहीँ सपनामा आउने कुराहरू बरबराउने हुन्छ । निद्राको कारणले नै बरबराउने समस्या हुन्छ । यो रोग होइन । यस्तो समयमा मानिसलाई पनि थाहा हुँदैन कि ऊ कसरी कराएको छ भनेर। यो सपनासँग आउने एउटा समस्या मात्र हो ।
यदि निद्रामा दाह्रा किट्ने समस्या छ भने यो पनि निद्रामै हुने भएको हुँदा मानिसलाई थाहा हुँदैन । यो पनि रोग होइन ।यसलाई गम्भीर रूपमा लिनुहुँदैन । कहिले काहिँ सुतेको समयमा शरीरका अंगहरू चल्ने हुन्छ तर कहिलेकाहीँ कुनै अंगमा प्रेसर पर्यो भने त्यस ठाउँमा राम्रोसँग रक्तसंचार हुन पाउदैन ।त्यस समयमा श्वासप्रश्वास बन्द भएको जस्तो हुन्छ । यस्तो अवस्थामा चेतनमा भए पनि निद्रामा भएका कारण मानिस चल्न सक्दैन जसले ऐठन हुन्छ । अर्को कारण एउटै पोजीसनमा लामो समयसम्म सुतेमा पनि ऐठन हुने हुन्छ । मानिस चलेमा यो आफैँ ठिक भएर जान्छ । जसलाई राति निद्रा लाग्दैन त्यसले राति सुत्ने र बिहान उठ्ने समय एउटै बनाउनु पर्छ । राति निद्रा लागेन भनेर बिहान ९ बजेसम्म सुत्नु हुदैन । बिहान नियमित एउटै समयमा उठ्नु पर्छ । त्यसैगरी यस्ता समस्या भएकाले चिया, कफी, सुर्तिसेवन गर्नुहुँदैन।
निद्रा नलागेमा के गर्ने, के नगर्ने ?
१) छिटो सुत्ने
२) एउटै समयमा सुत्ने र उठ्ने
३) निदाउनको लागि मदिरा नपिउने
४) चुरोट-सुर्ती सेवन नगर्ने
५) भोकै नसुत्ने तर हल्का मात्रै खाने
६) नियमित शारीरिक व्यायाम गर्ने
७) सुल्नु भन्दा पहिले करिव आधा घण्टा आराम गर्ने
८) निद्राको लागि औषधी प्रयोग नगर्ने
९) सुत्नु भन्दा पहिले मनतातो दूध वा पानि पिउने
१०) सुत्नु भन्दा पहिले मन तातो पानीले नुहाउने
Comments