बाढी पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा धेरै क्षति, २१ वटा जिल्ला बढी प्रभावित

असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा धेरै क्षति भएको सरकारले प्रारम्भिक अनुमान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले विपद्को प्रारम्भिक क्षतिको जानकारी दिएका हुन् । उनका अनुसार विपद्का कारण अहिलेसम्म २ सय २४ जनाको ज्यान गएको, २४ जना बेपत्ता र १ सय ५८ जना घाइते भएका तथा उच्च जोखिममा रहेका ४ हजार ३ उय ३१ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

यस्तै बाढी पहिरोबाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाण्डौ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ वटा जिल्ला बढी प्रभावित भएका छन् ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले विपद्बाट प्रभावित भएकाहरूलाई राहत रकम वितरण शुरू भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र पूरा गरिने बताए । उनले घाइतेहरूको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताए ।

क्षतिग्रस्त खानेपानी, सडक, टेलिफोन, बिजुलीका पूर्वाधार मर्मत तथा यथाशीघ्र सेवा सञ्चालनका लागि प्रक्रिया शुरू गरिएको प्रधानमन्त्री ओलीकाे भनाइ छ ।

एजेन्सी

Comments

Back to top