काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थाले

केही दिनअघि लगातारको वर्षापछि आएको बाढी पहिरोबाट ठप्प काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थालेसँगै सडक यात्रामा केही सहज हुन थालेको छ । धादिङको झ्याप्ले खोलाको सडकमा खसेको पहिरो पन्छाउने काम पूरा भएसँगै  त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा गाडी आवागमन सञ्चालन भएको छ ।

पूर्वतर्फ साँगाभञ्याङ भएर बाहिरिने गाडी अरनिको राजमार्ग हुँदै चौतारासम्म तथा बीपी राजमार्गतर्फ भकुण्डेबेँसीसम्म सञ्चालनमा रहेको काठमाण्डौ उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए । नुवाकोटतर्फ जाने नाका खुले पनि त्यहाँबाट भने ठूला गाडी आवागमनमा केही कठिनाइ रहेको उनको भनाइ छ ।

दक्षिणकाली भएर उपत्यका छाड्ने सडक भने सञ्चालनमा आउन सकेको छैन । बाढी पहिरोबाट पक्की पुल बगाएका र नदीले सडक कटान गरी ठूलो क्षति पुर्‍याएका ठाउँमा भने अझै गाडी पूर्णरूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने छ। केही दिनअघिको बाढी पहिरोबाट देशका ५० भन्दा बढी सडकको एक सय बढी ठाउँमा क्षति पुर्‍याएको थियो । सानाठूला गरी २० वटा पुल बगायो ।

बाढी पहिरोका कारण यात्राका क्रममा बीच बाटोमा रोकिएका यात्रुलाई गन्तव्यमा पुर्‍याउने कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी खटिरहेका छन् । तथापि, केही राजमार्गका केही खण्डमा गाडी सञ्चालनमा आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।

रासस

Comments

Back to top