विमान कम्पनीहरूले बुधवारसम्म अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने
चर्को विरोध भएपछि विमान कम्पनीहरूले आउँदो तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् ।
विपत्तिको समयमा महँगाे शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायु सेवा सञ्चालक सङ्घको आजको बैठकले अधिकतम मूल्य नलिने निर्णय गरेको हो । भोलि सोमवार, पर्सि मङ्गलवार र बुधवारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय भएको सङ्घका अध्यक्ष मनोज कार्कीले जानकारी दिए ।
हवाई भाडा महँगाे भएको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा यात्रुसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गरेका थिए ।
अहिले काठमाण्डाै आउने मुख्य सडकमार्ग बाढी तथा पहिरोका कारण अवरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प भएको हवाई उडानको भाडादर अस्वाभाविक रूपमा बढेको छ । काठमाण्डौलाई बाहिरी जिल्लासँग जोड्ने सबै सडक बन्द भएकाले अत्यावश्यक काम परेकाहरू हवाई यात्रा गर्न बाध्य छन् ।
एजेन्सी
Comments