सुडानमा हैजाका कारण ज्यान गुमाउनेको सङ्ख्या ४ सय ३० नाघ्यो
सुडानमा हैजाका कारण ज्यान गुमाउनेको सङ्ख्या चार सय ३० नाघेको छ । हैजा प्रकोपका कारण झन्डै १४ हजार मानिस बिरामी भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गर्भवती र बालबालिका सबैभन्दा धेरै प्रभावित भएकामा हैजाका कारण जनवरीदेखि अगस्टको बीचमा एक सय १४ गर्भवतीको ज्यान गएको रिपोर्ट सार्वजनिक भएको छ।
देशमा गृहयुद्ध चरिरहेकाले हैजामुक्त गर्न प्रयास गरे पनि सफल नभएको मन्त्रालयको भनाइ छ । सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिलोका अनुसार देशमा द्वन्द्वको अवस्थाका कारण आवश्यक परेकालाई स्वास्थ्य सेवा उपलब्ध गराउन निकै कठिन छ ।
सुडानका स्वास्थ्यमन्त्री हैथम मोहम्मद इब्राहिमले गएको अगस्टमा हैजाको प्रकोप भएको घोषणा गरेका थिए । युद्धसँगै ठूलो वर्षा, बाढी र विस्थापित शिविरमा भीडभाडका कारण हैजाका बिरामी बढेका खबरमा उल्लेख छ । रोग फैलिन नदिन धेरै ठाउँमा विद्यालय र बजार बन्द छन् । गएको वर्षदेखि अहिलेसम्म यो द्वन्द्वमा डेढ लाख मानिसने ज्यान गुमाएका बीबीसी हिन्दीले जनाएको छ ।
अप्रिल २०२३ देखि सुडानमा सेना र शक्तिशाली अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच सत्ता संघर्ष चलिरहेको छ । जसका कारण झन्डै ९० लाख मानिसले आफ्नो घर छाड्नु परेको छ । त्यहाँ भोकमरीको त्रास पनि बढेको खबरमा उल्लेख छ ।
एजेन्सी
Comments