भारतका प्रधानमन्त्री मोदीले भेटे युक्रेनका राष्ट्रपति जेलेन्स्की
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार न्यूयोर्कमा द्विपक्षीय भेटका क्रममा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटेका छन् ।
दुई नेताबिच पछिल्लो एक महिनामा यो दोस्रो भेट हो । मोदीले अगस्ट २३ मा युक्रेनको भ्रमण गरेका थिए ।
संयुक्त राष्ट्र सङ्घको शिखर सम्मेलनमा सहभागी हुन अमेरिका गएको समयमा मोदीले जेलेन्स्कीलाई भेटेका हुन् । भेटबारे जानकारी दिँदै भारत सरकारको विदेश मन्त्रालयको तर्फबाट सामाजिक सञ्जाल प्लेटफर्मले ‘दुवै नेताबिच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको भनेर भनेको छ । भेटमा दुई नेताहरूले युक्रेनको अवस्थाबारे छलफल गरेका थिए ।
मोदीले युक्रेन सङ्कट वार्ता र कूटनीतिबाट समाधान गर्ने भारतको चाहनालाई फेरि दोहोर्याए । मोदी यतिबेला तीन दिने अमेरिका भ्रमणमा छन् । यस क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत क्वाडका सबै नेताहरूसँग भेट गरेका थिए ।
पछिल्लो समय भारतको हतियार युक्रेनले रुसविरुद्ध प्रयोग गरेको भन्ने समाचार आएपछि उनीहरुको भेटलाई अत्यन्त नजिकबाट हेरिएको छ । यद्यपी भारतले यस विषयको खण्डन गरिसकेको छ ।
एजेन्सी
Comments