कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला
प्रजातान्त्रिक गणतन्त्र (डीआर) कङ्गोको सैन्य अदालतले राष्ट्रपतिलाई सत्ताच्युत गर्न प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । ३७ मध्ये तीन जना अमेरिकी, एक जना बेलायती, एक जना बेल्जिअन र एक जना क्यानडेली नागरिक रहेका बीबीसीले जनाएको छ ।
उनीहरुमाथी गएको मे महिनामा राष्ट्रपति निवासमा भएको आक्रमणको नेतृत्व गरेको आरोप लगाइएको छ । ५१ जना विरुद्ध सैन्य अदालतमा मुद्दा चलाएकोमा १४ जना निर्दोष ठहर भएका छन् ।
फैसला सुनाएको अदालतले बेलायती नागरिक युसुफ इजाङ्गीले 'कू' प्रयासमा संलग्न हुनका लागि मानिस जुटाएको उल्लेख गरेको छ । दोषी ठहर भएकासँग पुनरावेदनका लागि पाँच दिनको समय छ । गएको मे १९ तारिखको बिहानै राजधानी कन्शासमा भएको एउटा 'कू' प्रयासलाई सुरक्षा फौजले निस्तेज पारिदिएको त्यहाँको सेनाले जनाएको थियो ।
एजेन्सी
Comments