युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन पश्चिमा देशलाई रुसको चेतावनी
रुसविरुद्ध युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन रुसले पश्चिमा देशलाई चेतावनी दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुसविरुद्ध लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन चेतावनीसहित यदी रुसविरुद्ध ती क्षेप्यास्त्र प्रयोग गरिए नेटोले रुससँग युद्ध गरेको अर्थ लाग्ने बताएको बीबीसीले जनाएको छ । उनका अनुसार पश्चिमा देशमा बनेका लामो दूरीका अस्त्र युक्रेनले प्रयोग गर्नु भनेको युक्रेन युद्धमा नेटो देशहरू–अमेरिका र युरोपेली देश नै सहभागी भएको अर्थ लाग्नेछ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई दिनअघि य्रकेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति दिन सकिने सङ्केत गरेका थिए । लगत्तै रुसी सरकारी टेलिभिजनले राष्ट्रपति पुटिनको धारणा सार्वजनिक गरेको हो ।
अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका भ्रमणमा रहेका बेलायतका प्रधानमन्त्री किअर स्टार्मरसँग युक्रेनलाई रुसविरुद्धको युद्धमा लामो दूरीसम्म प्रहार गर्न सकिने क्षेप्यास्त्र प्रयोग गर्न दिने गरी प्रतिबन्ध फुकुवा गर्ने बारे छलफल गर्न लागेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा साझेदारलाई सीमापारी रहेका निसानामा आक्रमण गर्न उपलब्ध लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति माग्दै आएका छन् ।
एजेन्सी
Comments