उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिन कांग्रेसकाे सुझाव

नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिन सुझाव दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले उपसभामुखलाई राजीनामा दिन उपयुक्त हुने सुझाव दिएको हो ।

असम्बन्धित व्यक्तिहरूको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको बैठकको ठहर छ । उपसभामुख रानालाई पदबाट हटाउने विषयमा कांग्रेस–एमालेबीच सहमति भइसकेको छ । यसैबारे नेताहरूको धारणा बुझ्न देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छलफल गरेका हुन् ।

उपसभामुखले ‘पद अनुकूल आचरण नगरेको’ भन्दै कांग्रेस र एमालेले उनलाई हटाउने तयारी गरेका हुन् । त्यसका लागि सत्तारूढ दलका सांसदहरूले हस्ताक्षर सङ्कलन गरेका छन् । उपसभामुखले मार्गप्रशस्त नगरेमा उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सत्तापक्षको तयारी छ ।

उपसभामुखले पद अनुकूलको आचरण नगरेमा एक चौथाइ सदस्यले संसद प्रस्ताव दर्ता गर्न सक्ने र पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा पदमुक्त हुने संवैधानिक व्यवस्था छ।

संवैधानिक परिषद्को अङ्कगणितलाई मध्यनजर गरेर सत्तापक्षले उपसभामुख रानामाथि निशाना साँधेको टिप्पणी भइरहेको छ । यसअघि उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरेर भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई लेखेको पत्र बाहिरिएको थियो । पत्र गएको साउन पहिलो हप्ता सार्वजनिक भएलगत्तै त्यसै बेला पनि संसद्मा यो विषय उठेको थियो ।

एजेन्सी

Comments

Back to top