उपसभामुख इन्दिराविरुद्ध महाभियोगको तयारी

सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाभियोगको तयारी गरेका छन् ।

कांग्रेसका एक सांसदका अनुसार सत्तारूढ दलहरूले आजैको संसद् बैठकमा उपसभामुख रानाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारी गरिरहेका छन् ।

यसअघि सोमबार साँझ बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनसम्बद्ध दलहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाविरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेका थिए ।

त्यसमा दलहरूले लगाउन सकिने प्रतिक्रिया दिएको बैठकमा सहभागी एक नेताले बताएका थिए । यसपछि तयारी गरिएको हो ।

यसपछि प्रधानमन्त्री ओलीको दल एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौं नछाड्न सर्कुलर जारी गरिसकेको छ । जतिबेला जे पनि हुनसक्ने भन्दै सांसदलाई काठमाडौं नछाड्न भनिएको हो ।

यसअघि उपसभामुख रानाले पदीय मर्यादाविपरीत अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको थियो । दलहरूले त्यसको विरोध गर्दै कारबाहीको माग गरेका थिए । तर, यसबीचमा यो विषय सेलाएको थियो । तर, फेरि प्रधानमन्त्री ओलीकै चाहनामा अगाडि बढाउन लागिएको हो।

उपसभामुख रानाले भने आफूविरुद्ध नियोजित कदम चालेको बताएकी थिइन् । उनीविरुद्ध राज्य व्यवस्था तथा सुसासन समितिमा उजुरी परेको थियो ।

एजेन्सी

Comments

Back to top