संविधान दिवसमा ४९२ जना कैदीबन्दीलाई रिहा गर्न सिफारिस
संविधान दिवसमा रिहा हुनेगरी ४९२ जना कैदीबन्दीको कैद कट्टा गर्न सिफारिस गरिएको छ । कारागार व्यवस्थापन विभागले कैदकट्टाबारे निर्णय गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
सिफारिस हुनेमा ५० प्रतिशत कैद भुक्तान गरेका ४१९ जना, ज्येष्ठ नागरिक २ जना, मलुकी फौजदारी अपराध संहिता कार्यान्वयन हुनभन्दा पहिला भएका घटनामा संलग्नहरु ७१ जना गरी ४९२ जना छन् ।
विभागले एक सूचना जारी गर्दै कैदीबन्दीको नामावलीसहित ७ दिने सूचना निकाल्दै उजुरी पनि आह्वान गरेको छ । कैद कट्टा गर्न लागिएका व्यक्तिमाथि कुनै गुनासो तथा उजुरी भए ७ दिनभित्र दिन विभागले सूचना जारी गरेको हो ।
फौजदारी संहिता कार्यान्वयन हुनु भन्दा पहिला भएको घटनामा ४० प्रतिशत कैद भुक्तान पछि बाँकी कैद कट्टा गर्न सकिने व्यवस्था छ ।
अब गृहले सिफारिसका लागि मन्त्रिपरिषद्मा लैजान्छ । मन्त्रिपरिषद् बैठकले सिफारिस गर्ने निर्णय गरेपछि अन्तिम निर्णय तथा स्वीकृति राष्ट्रपतिले गर्नेछन् ।
एजेन्सी
Comments