सार्कलाई क्रियाशील बनाउन पहल गर्नेछु : प्रस्तावित राजदूत धिताल
पाकिस्तानका लागि प्रस्तावित राजदूत रीता धितालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सम्मेलन आयोजनाका लागि आफूले काम गर्ने बताएका छिन् । सन् २०१६ देखि नेपाल अध्यक्ष राष्ट्र रहेको सार्क सम्मेलन स्थगित हुँदै आएको र त्यसलाई शुरू गराउने नेपाल सरकारकाे धारणाअनुसार आफूले त्यसमा पहलकदमी लिने उनको योजना छ ।
संसदीय सुनुवाइ समितिको आजकाे बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत धितालले सार्कलाई क्रियाशील बनाउने बारेमा सरकार प्रष्ट भएकाे उल्लेख गर्दै आफूले त्यहीअनुसार काम गर्ने बताइन् । सार्कको क्षेत्रीय राष्ट्रहरूबीचको आर्थिक, सामाजिक, सांस्कृतिक र वैज्ञानिक क्षेत्रको विकासमा महत्त्व रहेको कुरालाई सम्बन्धित राष्ट्रहरूले स्वीकार गरेकाले यसलाई चलायमान बनाएर लैजान जोड दिनुपर्ने उनकाे भनाइ छ ।
प्रस्तावित राजदूत धितालले नेपालको क्रिकेट खेलको विकासमा पाकिस्तानको सहयोगका लागि पनि आफूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
एजेन्सी
Comments